सुदूरपश्चिम सरकार बजेटको आकार घटाउने तयारीमा
धनगढीः सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षका लागि आकार घटाएर बजेट ल्याउने गृहकार्य अघि बढाएको छ। प्रदेश सरकारले आन्तरिक आम्दानीका स्रोतहरु वृद्धि गर्न नसकेका कारण बजेटको आकार चालू आर्थिक वर्षको तुलनामा सानो हुने देखिएको हो।
प्रदेश सरकारको ठूलोे बजेट खर्च हुँदै आएको कृषि क्षेत्रलाई करमा ल्याउन नसकिएकाले बजेटको आकार पनि बढाउन नसकिएको सुदूरपश्चिम सरकारको दाबी छ। सुदूरपश्चिम सरकारले चालू आर्थिक वर्षमा ३० अर्ब ३३ करोड ९४ लाखको बजेट कार्यन्वयन गरिरहेको छ। आगामी आर्थिक वर्षमा सुदूरपश्चिम सरकारको झण्डै ५ अर्ब बजेट कम हुने देखिएको हो।
आर्थिक मामिला मन्त्रालयका सचिव जितेन्द्र बस्नेतले प्रदेश सरकारको आन्तरिक आम्दानी न्यून भएकाले आगामी आर्थिक वर्षको बजेटको आकार सानो हुने बताए। ‘साढे तीन प्रतिशत मात्र आन्तरिक राजश्व छ,' उनले भने, 'यो अति नै दयनिय र अति नै कमजोर अवस्था हो।’
प्रदेश सरकारको चालू आर्थिक वर्षमा लक्षको आधा बजेट पनि खर्च हुने सम्भावना देखिएको छैन। आर्थिक मामिलामन्त्री प्रकाश रावलले सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्चको अनुपात सन्तोषजनक नरहेको बताए। उनले प्रत्येक वर्ष विभिन्न कारणले विकास बजेट न्यून खर्च हुँदै आएको बताए। ‘ठिक समयमा ठिक काम गर्न सकेका छैनौ,' उनले भने, 'चालू बजेट आफ्नो समयमा खर्च हुँदै आएको छ। जनशक्ति र कार्यालय सञ्चालनमा चालू खर्च हुँदै आएको छ।’ उनले भौतिक निर्माणका काम अहिले पनि जारी रहे पनि भुक्तानी अन्तिममा हुने गरेको बताए।
आर्थिक मामिला मन्त्रालयले अन्य मन्त्रालयहरूमा बजेट सिलिङ्ग पठाइएको र सोहीअनुसार मन्त्रालयहरुले योजना तथा कार्यक्रम निर्माण थालेका छन्। प्रदेश सरकारले कृषि क्षेत्रबाट कर संकलन गर्न नसकेको दाबी अर्थ मन्त्रालयको छ। मन्त्रालयका सचिव बास्तोलाले कृषि क्षेत्रमा सरकारको योजना ३६ प्रतिशत रहेको बताए। प्रदेशको आन्तरिक आय वृद्धिका लागि र बजेटको आकार वृद्धिका लागि कृषि क्षेत्रमा कर आवश्यक रहेको सचिव बास्तोलाले बताए।
संघीय सरकारले सुदूरपश्चिम प्रदेश सरकारलाई वित्तीय समानीकरण र राजश्व बाँडफाँटको बजेट सिलिङसमेत पठाइसकेको छ। कृषि तथा वन, पूर्वाधार, पर्यटन, ऊर्जा, मानव पुँजी निर्माण नै प्रदेश सरकारको नीति तथा कार्यक्रम रहनेछ।