सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा एमालेका २ धार, अमरगढीको मेयर पद बेचेको आरोप 

२०७९ वैशाख १२, १०:५५ खबर संवाददाता

डडेल्धुरा: २ भागमा विभाजित भएको नेकपा एमाले डडेल्धुरा पुनः बाँडिएको छ। नेकपा समाजवादी अलग्गिएपछि बचेको एमालेमा पनि अहिले २ धार देखिएका छन्।  स्थानीय तह निर्वाचन नजिकिएका बेला नेकपा एमाले डडेल्धुरामा झनै असन्तुष्टि बढ्न थालेको छ। 

आइतबार नेकपा एमालेले नेपाली काँग्रेस बीपीसँग तालमेल गर्ने निर्णय गरेपछि पार्टीभित्रै त्यो असन्तुष्टि चर्किएको हो। नेकपा एमालेका नेता तथा अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा (विपीन)ले आइतबार साँझ पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्। तालमेल गर्ने निर्णयमा हस्ताक्षर भएको केही बेरमै पत्रकार सम्मेलन गरी मेयर ओझाले असन्तुष्टि पोखेका हुन्। उनीसहित अन्य केही नेताहरू सहमतिको विरुद्धमा उभिएका छन्।

एमालेका प्रदेश कमिटी सदस्यसमेत रहेको ओझाले एमालले कांग्रेस विपीलाई अमरगढी नगरपालिकाको मेयर पद बिक्री गरेको आरोप लगाए। यसले सारा एमालेको चित्त दुखेको उनले बताए। उनले भने, ‘एकाएक एक समूहसँग सहमति गरेर नगर प्रमुख पद बिक्री गर्ने काम भयो। यसले म मात्रै होइन, सारा एमालेका कार्यकर्ताको चित्त दुखेको छ।’ कुनै पनि छलफल र परामर्शबिना नै गरेको त्यो सहमति मान्य नहुने ओझले बताए।  उनले आफूहरूले नगरप्रमुख पाउनुपर्ने धेरै आधार रहेको बताएका छन्।     

आइतबार दिउँसो एमालेले नेपाली काँग्रस विपीसँग जिल्लाका सातै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको थियो। काँग्रेस विपीमा नेपाली काँग्रस पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले मिलेको छ। 
 

कमेन्ट लोड गर्नुस