सुदूर नेपाललाई विश्वसँग जोड्दै

३६ बर्षदेखि अल्झिएको पश्चिम सेतीमा लगानी गर्न कतारी कम्पनीको ईच्छा

२०७५ माघ २३, १२:२० खबर संवाददाता

३६ बर्षदेखि अल्झिएको लामो समयदेखि चर्चामा मात्रै सीमित भएको पश्चिम सेती जलविद्युत् आयोजनामा लगानी गर्न कतार सरकारको एक कम्पनीले इच्छा व्यक्त गरेको छ। कतारका लगानीकर्ताले सो आयोजनामा चासो देखाएपछि लगानी बोर्डका अधिकारी र सो कम्पनीका अधिकारीबीच द्विपक्षीय छलफल भएको हो। बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेसहितको टोलीले कतारको नेब्रास पावर कम्पनीका अधिकारीसँग विभिन्न आयोजनाका बारेमा छलफल गरेको हो। कतारबाट फर्किएका प्रवक्ता वाग्लेले निर्माणमा जान सक्ने तयारीमा रहेको परियोजनाका रूपमा पश्चिम सेती आयोजनाको विषयमा छलफल भएको जानकारी दिए। 

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भएको सो आयोजना निर्माण जान सक्ने अवस्थामा रहेको बारेमा बोर्डले सो कम्पनीका प्रतिनिधिलाई जानकारी गराएको प्रवक्ता वाग्लेको भनाइ छ। ‘पश्चिम सेतीका बारेमा उहाँहरू इच्छुक हुनुहुन्छ, तर थप छलफल र आवश्यक प्रक्रिया भने निरन्तर संवादपछि मात्रै अगाडि बढ्नेछ,’ उनले भने। सो आयोजनाको कूल लागत एक खर्ब ५० अर्ब जति हुने अनुमान गरिएको छ। आयोजनाका बारेमा प्रारम्भिक रूपमा भएका द्विपक्षीय वार्ता सकारात्मक रहेको भन्दै थप प्रक्रिया अगाडि बढाइने बोर्डको तयारी छ। कूल ७५० मेगावाट क्षमताको सो आयोजना लामो समय अस्ट्रेलियाको स्मेक कम्पनीले जिम्मा लिएको थियो। सो कम्पनी हटेपछि सरकारले २०६८ सालमा आयोजना चिनियाँ कम्पनी थ्री गर्जेजलाई प्रवर्धनका लागि आग्रह गरेको थियो। 
आयोजनामा नेपाल विद्युत् प्राधिकरणको २५ र चिनियाँ कम्पनीको ७५ प्रतिशत शेयर रहने गरी सम्झौता भएको थियो। बोर्ड, प्राधिकरण र चिनियाँ कम्पनीबीच पटकपटक आयोजनाका बारेमा समेत छलफल भएको थियो। तर व्यवसायिक कार्ययोजना र केही विषयमा असहमति रहेपछि चिनियाँ कम्पनी गत असोजदेखि सो आयोजनाबाट बाहिरिएको छ। पछिल्लो पटक बोर्ड बैठकले लगानीको ढाँचा र प्रक्रिया तय गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री डा युवराज खतिवडा र बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी सदस्य रहेको एक कार्यदल बनाएको थियो। सो कार्यदलले बोर्डमा प्रतिवेदन बुझाउने क्रममा छ। यस्तै बोर्डले कतारका सरकारी निकाय तथा निजी क्षेत्रलाई समेत आगामी चैत १५ र १६ गते आयोजना गरिएको लगानी सम्मेलनमा सहभागी हुन समेत आग्रह गरेको थियो। 
प्रवक्ता वाग्लेका अनुसार सम्मेलनमा सहभागी हुन कतार उत्सुक रहेको र सहभागी हुने वचन समेत दिएको जानकारी दिए। यस्तै, बोर्डले अगाडी बढाइरहेका अन्य आयोजनाका बारेमा पनि कतार सरकार प्रतिनिधिसँग छलफल गरेको थियो। 
बोर्डले समन्वय गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण सुरू भएको छ। यस्तै बोर्डले नै संयोजन गरेको होङ्सी शिवम् सिमेन्टले पनि उत्पादन सुरू गरेको छ।  रासस
 

कमेन्ट लोड गर्नुस