डडेल्धुरामा गठबन्धन नहुने, ‘मित्रवद प्रतिस्पर्धा’को सहमति
धनगढीः डडेल्धुरामा गठबन्धनका दलहरुले आसन्न स्थानीय तहको चुनावमा तालमेल नगर्ने निर्णय गरेका छन्। चुनावमा जिल्लाका सबै स्थानीय तहमा सत्ता गठन्धनका दलहरुले तालमेल नगर्ने निर्णय गरेका हुन्। एमाले कमजोर रहेको र सबै स्थानीय तहहरुमा गठबन्धनका दलहरुले नै जित्ने भन्दै यस्तो निर्णय गरिएको माओवादी सुदूरपश्चिमका उपाध्यक्ष मानसिंह मालले बताए।
प्रदेश स्तरीय गठबन्धनले पनि तालमेल नगर्ने निर्णयलाई मान्यता दिने तयारी गरेको उनले बताए। केन्द्रीय गठबन्धनले पनि मित्रवद प्रतिस्पर्धालाई सकरात्मक रुपमै लिएको उनको भनाइ छ। डडेल्धुरामा गठबन्धनका लागि बनाइएको कार्यदलको वैशाख ४ गतेको बैठकले गठबन्धन नगर्ने र मित्रवद प्रतिस्पर्धाका आधारमा चुनावमा जाने निर्णय गरेको थियो।