कीटनाशक विषादिको प्रयोगमा तत्काल रोक लगाउन माग
प्रतिनिधिसभाका सांसदहरुले मानव स्वास्थ्यका लागि घातक कीटनाशक विषादिको प्रयोगमा तत्काल रोक लगाउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाका सांसद प्रेम सुवालले चार वर्षभित्र पूरै प्रतिबन्ध गराउने गरी मानव स्वास्थ्यका लागि घातक कीटनाशक विषादि नियन्त्रणसम्बन्धी कार्ययोजना तत्काल बनाउन सरकारसँग माग गर्नु भएको हो। मंगलबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कीटनाशक विषादि व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै उनले कृषकको जीवनमाथि ठूलो घात गर्ने खालका कीटनाशक विषादि नियन्त्रण गरेर सरकारले खेतीबालीमा पूर्ण रुपमा प्राङ्गारिक मलको व्यवस्था गर्न ढिलाइ गर्न नहुने पनि स्पष्ट पारे। समितिका सदस्यसमेत रहनु भएका सांसद सुवालले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि छुट्याइएको २५ करोड बजेट हिनामिना भएको दावी गर्दै छानबिन गर्न पनि सरकारसँग माग गरेका छन्।
बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले मानव स्वास्थ्य र माटोमै गम्भीर असर पार्ने कीटनाशक विषादि नियन्त्रणका लागि सरकारले नीति तथा कार्यक्रम नै तय गरेको समितिलाई जानकारी गराएको थियो। उनले सरकार माटोको व्यवस्थापन गरेर कृषकहरुको हितमा हुने गरी कृषिसम्बन्धी आवश्यक कानुनी व्यवस्था गर्न प्रतिवद्ध भएर लागि परेको दावी पनि गरे। बैठकमा समितिका सदस्यहरुले कृषि बालीमा अत्याधिक विषादिको प्रयोग गर्दा क्यान्सर जस्ता घातक रोगको शिकार हुने क्रम बढकाले पनि त्यसको नियन्त्रणमा सचेत रहन सरकारको गम्भीर ध्यानाकर्षण गरेका थिए ।