सुदूर नेपाललाई विश्वसँग जोड्दै

डब्लुएचओका महानिर्देशक बिहीबार नेपाल आउने

२०७९ वैशाख ७, ०५:२५ रासस

काठमाडौँ: विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आउने भएका छन्।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी भोलि (वैशाख ८ गते) अपराह्न १२ः२५ बजे नेपाल आउनेछन्। तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्नेछन्। 

त्यसैगरी उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन्।  यस्तै नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारीसहित डब्लुएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग पनि छलफल गर्नेछन्।

भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्ने कार्यक्रम छ।  महानिर्देशकका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्लुएचओका अन्य अधिकारीहरू रहने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी वैशाख १० गते नेपालबाट फर्कने कार्यक्रम रहेको छ। 

कमेन्ट लोड गर्नुस