डडेल्धुराको अमरगढीमा मेयर बन्ने दौडमा हरि भट्ट
डडेल्धुरा: आसन्न स्थानीय तहको निर्वाचन आउन एक महिनाभन्दा कम समय बचेको छ। सोही कारण चुनावमा होमिन इच्छा प्रकट गरेका नेताहरु प्रचारप्रचार तथा भेटघाट कार्यक्रममा व्यस्त भइसकेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा पनि चुनावी सरगर्मी बढीसकेको छ। यसैबीच गत स्थानीय तहको निर्वाचनमा नेकपा एमाले विजयी भएको अमरगढी नगरपालिकामा नेपाली काँग्रेसका नेता हरिप्रसाद भट्ट अघि सरेका छन्। विगत १ महिना अघिदेखि ‘हरि भट्ट जिताउ अभियान’ नै थालेर उनले भेटघाटलाई तिव्र बनाइसकेका छन्। गत निर्वाचनमा समेत अमरगढीको मेयर पदमा इच्छा देखाएका उनले अन्तिम समयमा टिकेट पाएका थिएनन्।
यसपटक भने आफूले नै टिकट पाउनुपर्ने दाबीसहित उनी निर्वाचनमा होमिसकेका छन्। भट्ट पेशाले अधिवक्ता हुन्। ३ पटक २०६२, ०६७ र ७२ मा लोकप्रिय मत ल्याएर काँग्रेसको महाधिवेशन महासिमितमा विजयी भएका भटट्को सक्रिय राजनीति २०४६ सालबाट सुरु भएको हो। ‘विद्यार्थी राजनीति गरेर २०५३ सालमा क्षेत्रिय प्रतिनिधि भए। २०५७ सालमा नगर सभापति बनेको थिए’ उनले भने, ‘त्यसपछि ६२ महाधिवेशन प्रतिनिधि, ६७ सालमा महासमिति सदस्य र ७२ सालमा फेरि महाधिवेशन प्रतिनिधि भए।’
२/३ दिन भित्रै टिकटको टुंगो लाग्ने बताउने भट्ट काँग्रेसले गत निर्वाचन जस्तो हविगत नभोग्नुपर्ने बताउँछन्। ‘अहिलेसम्म टिकट पाउँछु भन्ने अपेक्षा छ। जनताले हरि भट्ट भनिरहेका छन्। जनताको दबाबको अगाडि कसैको केही चल्दैन’ उनी भन्छन्, ‘काँग्रेसले एउटा दुर्घटना २०७४ मा भोगिसकेको छ। अब त्यस्तो दुर्घटना भोग्दैन।’
टिकट पाएर अमरगढीको मेयर पदमा विजयी भएमा सर्वप्रथम ‘स्मार्ट सिटी’को नारा दिइएको भ्रम चिर्ने उनी प्रतिवद्धता व्यक्त गर्छन्। सुरुमा सदरमुकामको अव्यवस्थित सडक व्यस्थापन गरी वन कार्यालयदेखि मालम दोबाटासम्म नयाँ आकर्षक बजार बिस्तार गर्ने उनको लक्ष्य छ।
‘पुस्तादेखि भोगचलन गर्दै आएका स्थानीयलाई लालपूर्जा उपलब्ध गर्ने, नगरका सबै विद्यालयमा एउटै किसिमका संचरना निर्माण गर्ने तथा एक दिन एक अभिभावक कार्यक्रम ल्याउने, प्रत्येक नगरवासीको खाता राखेर अतिविपिन्न परिवारलाई मासिक ५ हजार उपचार खर्च उपब्ध गराउनेछु’ उनी भन्छन्, ‘छाडा चौपायालाई व्यवस्थापन गरी पाल्ने, स्थानीय उत्पादनको बजार खोज्ने जिम्मा नगरपालिकाले लिनेदेखि नगरपालिकामा नगरप्रहरी व्यवस्थापन गर्ने योजना मेरो छ।’
गत निर्वाचनमा काँग्रेसको किल्ला मानिने अमरगढीमा नेकपा एमालेबाट विशेश्वरप्रसाद ओझा(विपीन) नगर प्रमुखमा विजयी भएका थिए। उनले काँग्रेसका उम्मेदवार डिल्लीराज जोशीलाई झिनो मत १ सय २८ मतले हराएका थिए।