मोहनापुल–अत्तरिया ६ लेन सडकको निर्माण ९ महिना भित्रै सम्पन्न गर्ने दावी
२० महिनामा ३० प्रतिशत भौतिक प्रगती गरेको मोहनापुल–अत्तरिया ६ लेन सडकको निर्माण अवको ९ महिना भित्रै सम्पन्न गर्ने आयोजना कार्यालयले दावी गरेको छ। निर्माणका क्रममा अव कुनै किसिमको अवरोध नभएकाले निर्धारित समय भन्दा ६ महिना ढिलो अर्थात अवको ९ महिना भित्रै निर्माण सक्ने दावी गरिएको हो। सुरुमा आयोजना कार्यालयले सडक क्षेत्र खाली गर्न नसक्दा र त्यसपछि निर्माण व्यवसायीको कमजोरीले सडकको निर्माण अहिले पनि कछुवा गतिमा छ। अव निर्माण अवधीको ३ महिना मात्रै बाँकी छ भने ६ महिना म्याद थप गरेर मोहनापुल–अत्तरिया ६ लेन सडकको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजनाका प्रमुख राजेश पौडेलले बताए।
६ लेन सडक आयोजना कार्यालयका अनुसार मोहनापुलदेखि बोराडाँडी सम्म एउटा र बोराडाँडीदेखि अत्तरिया सम्म अन्य २ वटा गरि ३ वटा ठेक्का चालु अवस्थामा छन्। तीन वटा ठेक्का पहिलो प्याकेज अर्थात बोराडाडी सम्मको ठेक्कामा सबैभन्दा कम भौतिक प्रगती भएको छ। समग्रमा २८ देखि ३० प्रतिशत मात्रै भौतिक प्रगती भएको आयोजना कार्यालयले जनाएको छ। आयोजना कार्यालयले अवको ९ महिनामा निर्माण सक्ने दावी गरेपनि निर्माण कम्पनीको धारणा सुन्दा ९ महिनामा निर्माण सकिनेमा विश्वास गर्ने अवस्था छैन्। बोराडाँडी सम्म निर्माणको जिम्मा पाएको नागार्जुन निर्माण सेवाका ईन्जिनियर नविन देवले ९ महिना भित्र निर्माण सकिने सम्भावना रहेको बताए।
निर्माण व्यवासायीहरुले ठेक्का सम्झौताको एक बर्ष सम्म विभिन्न अवरोधले कुनै पनि काम गर्न नसकिएले झण्डै १ बर्ष म्याद थप्नुपर्ने माग गरेका छन्। सुरुमा संरचना भत्काउन स्थानीयबाटै भएको विरोध, त्यसपछि अदालको मुद्धा र त्यसपछि विद्युत, टेलीकम, खानेपानीको लाईन स्तानान्तरण र रुख कटानीमा भएको ढिलाईले एक बर्ष सम्म काम गर्नै नसकिएको दावी निर्माण कम्पनीहरुको छ। तरपनि अवको ९ महिना भित्रै काम सम्पन्न हुन सक्ने राजेन्द्र निर्माण सेवाका कार्यकारी निर्देशक रोशन भट्टले बताए।
यता आयोजना कार्यालयले भने निर्माण कम्पनीहरुलाई कुन दिन के काम गर्ने भन्ने बारेमा स्पष्ट खाका दिईसकेको दावी गरेको छ। अव ६ महिना म्याद थप गर्ने तयारी भएको र सो अवधीमा निर्माण सम्पन्न नभए निर्माण व्यवसायीलाई पनि कारवाहीको दायरामा ल्याउने दावी आयोजना प्रमुख राजेश पौडेलले गरे। मोहनापुलदेखि अत्तरिया सम्मको १४ दशमलव २ किलोमिटर क्षेत्रमा निर्माण हुने तीन वटा पुलको भने अहिले सम्म ठेक्का सम्झौता भएको छैन्। आयोजना कार्यालयका अनुसार पुलको बल्ल आएर डिजायनको काम भईरहेको छ।