कैलाली एमालेलाई उम्मेदवार टुंग्याउन सकस
धनगढीः कैलालीमा १३ वटा स्थानीय तह छन्। २०७४ को निर्वाचनमा ७ स्थानीय तहमा नेकपा एमालेले जितेको थियो। २०७९ वैशाख ३० गते हुने निर्वाचनका लागि भने एमालेले अझै उम्मेवदार छनोट गर्न सकेको छैन।
निर्वाचनको मिति आउन एक महिना मात्र बाँकी रहे पनि जिल्लाको कुनै पनि स्थानीय तहमा एमालेले उम्मेदवार छनोट गर्न नसकेको हो। नेकपा एमाले कैलालीका सचिव डेजी पाण्डेले तल्लो तहमा सर्वसहमतिका लागि छलफल जारी रहेको बताए। ‘तलबाट आउन बाँकी छ। छलफल हुँदैछ,’ उनले भने।
धनगढी उपमहानगरपालिकामा पनि एमालेले उम्मेदवार छनोट गर्न सकेको छैन। २०७४ को निर्वाचनमा धनगढीमा तेस्रो भएको एमालेबाट पाँच जना आकांक्षी देखिएका छन्। धनगढीमा नगरप्रमुख पदका लागि जीवनकुमार बम, दुर्गाप्रसाद जोशी, रणबहादुर चन्द, राजेश खाती र कमलसिंह राना आकांक्षी देखिएका हुन्। नगर प्रमुख पदका आकांक्षी रानाले आफूसँग धनगढीको विकासको योजना रहेको बताए। उनले भने, ‘धनगढीको विकासको योजना मसँग छ। मेरो धनगढीमा जित्ने आधार पनि छ। पार्टीमा छलफल पनि भएको छ।’
कैलालीका अन्य स्थानीय तहमा दर्जन बढी नेताहरुले प्रमुख, उप–प्रमुखमा आकांक्षा देखिएका हुन्। स्थानीय तहमै एमालेले सर्वसम्मत उम्मेदवार छनोटको प्रयास गर्दै आएको छ। केही स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको एमालेको दाबी छ। तर जिल्लाका सबै स्थानीय तहको प्रमुख, उप–प्रमुखको टुंगो लागेपछि मात्र सार्वजनिक गरिने एमाले कैलालीका अध्यक्ष रतन थापाले बताए। ‘केही स्थानीय तहबाट नाम आएको छ। तर आधिकारीक नभएर सार्वजनिक गरेका छैनौ। २र३ दिनमा सबै स्थानीय तहको आउछ,’ उनले भने।
कैलालीमा १३ स्थानीय तह र एक सय २६ वडा छन्। जिल्लामा ६ सय ५६ पदका लागि स्थानीय तह निर्वाचन हुनेछ। २०७४ को निर्वाचनमा कैलालीको गोदावरी, गौरीगंगा, घोडाघोडी, टीकापुर, लम्कीचुहा, चुरे र मोहन्याल गाउँपालिका गरी ७ वटा पालिकामा नेकपा एमाले विजयी भएको थियो। माओवादी केन्द्र भजनी नगरपालिका र कैलारी गाउँपालिकामा विजयी भएको थियो। धनगढी, जोशीपुर र बर्दागोरियामा नेपाली काँग्रेस विजयी भएको थियो भने जानकी गाउँपालिकामा फोरमका उम्मेदवार विजयी भएका थिए।