भरतपुर अस्पतालमा कार्यरत पाठक बने उत्कृष्ट कर्मचारी
चितवन: चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा कार्यरत जय पाठक (जेपी) उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएका छन्। पाठकलाई शुक्रवार अस्पतालको आफ्नो ५९औँ वार्षिकोत्सवको अवसरमा नगदसहित उत्कृष्ट कर्मचारीमा चयन गरी सम्मानित गरिएको हो।
भरतपुर अस्पताल चितवनमा अनवरत रूपमा सेवारत रहि सकुशल ढङ्गले भरतपुर अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्याएको भन्दै अस्पतालको ५९औँ वार्षिकोत्सवको सुखद अवसरमा पाठकलाई नगर पुरस्कार सहित उत्कृष्ट कर्मचारीको कदरपत्र प्रदान गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनको उत्तरोत्तर प्रगतिको समेत कामना गरे । उनले बिरामीको हरेक समस्यामा मलम लगाउने गर्दछन्।
उनी काम गर्दा बिरामीको समस्या आफ्नै समस्या हो भन्ने महसुस गर्ने गर्दछन्। उनको बिरामीलाई परामर्श दिने तथा बोल्ने शैलीको चौतर्फी रूपमा प्रशंसा हुने गर्दछ। उनले पत्रकारिताको माध्यमबाट समेत अस्पतालको विकासमा टेवा पुर्याएका छन्। सामाजिक सेवाको क्षेत्रमा समेत निकै सक्रिय पाठक विभिन्न संघ–संथामा नेतृत्वदायी भूमिकामा छन्।
नगदसहित उत्कृष्ट कर्मचारीमा चयन भएसँगै पाठकले आफुले थप जिम्मेवारी महसुस गरेको भन्दै, थप सक्रिय रुपमा क्रियाशिल भई काम गर्न प्रेरणा मिलेको प्रतिक्रिया दिए। भरतपुर केन्द्रीय अस्पतालमा कार्यरत पाठक चितवनका चर्चित स्वास्थ्य पत्रकार समेत हुन्।
पाठकसँगै सर्जरी शाखाका डा. दिपेन्द्र न्यौपाने, कार्यालय सहयोगी जीतबहादुर गुरुङ, सवारी चालक सुमन श्रेष्ठ, नर्स कोपिला रेग्मी, कम्प्युटर सहायक सुजन अधिकारी र कार्यालय सहयोगी शारदा गुरुङ समेत सम्मानित भएका छन्।
वार्षिकोत्सवको अवसरमा शुक्रवार ओपिडी टिकट निःशुल्क गरिएको थियो। बिहान बिरामीलाई निःशुल्क फलफूल वितरण समेत गरिएको कार्यक्रम संयोजक कृष्ण प्रसाद पौडेलले जानकारी दिए।
बार्षिकोत्समा वार्षिकोत्सव स्मारिका विमोचन, खेलकुद प्रतियोगितामा तथा कविता वाचन एवम् वक्तृत्वकला प्रतियोगिता उत्कृष्ट हुनेहरूलाई पुरस्कार वितरण, सेवा निवृत्त एवम् उत्कृष्ट कर्मचारीलाई सम्मान, सास्कृतिक लगायत थुप्रै कार्यक्रम रहेको थियो।
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहेका थिए।