कांग्रेसको ओरालो यात्रा !
-देवराज ‘इन्द्र’
सम्भवत कांग्रेस सभापति शेरबहादुर देउवा एक मात्र यस्ता नेता हुन्, जसले निर्वाचनको मुखमा आएर आफ्नो पार्टी कमजोर रहेको र प्रतिपक्षी बलियो भएकाले गठबन्धन आवश्यक रहेको भन्दै सार्वजनिक रुपमा बोले। सबै नेताका लागि यसरी निर्वाचनको मुखमा आएर आफूले नेतृत्व गरेको दल नै कमजोर भएको अभिव्यक्ति दिन सम्भव हुँदैन, अझ त्यसमा पनि सत्ताको नेतृत्व गरिरहेको पार्टीले। देउवाले यो अभिव्यक्ति दिइरहँदा वास्तवमा कांग्रेस आफूभित्र नै छिन्न भिन्न अवस्थामा छ।
६ वर्ष अघिको अधिवेशनबाट सुरु भएको कांग्रेसको ओरालो यात्राको स्मरण गराएका हुन् सभापति देउवाले। के साच्चै देउवाले भनेजस्तै कांग्रेस यति कमजोर अवस्थामा पुगिसकेको छ ? उसले आफ्नै खुट्टामा उभिएर निर्वाचन लड्नसक्ने क्षमता समेत गुमाइ सकेको हो ?
यो प्रश्नको उत्तर पनि देउवाको वरिपरि नै खोज्नुपर्ने हुन्छ। अघिल्लो कार्यकालमा सभापति निर्वाचित भएदेखि उनको कार्यशैली, पार्टीभित्र बढ्दै गएको अन्तरद्धन्द्ध, गुट उपगुटको सहि व्यवस्थापनको कमी, राष्टिय मुद्दाहरुमा अस्पष्ट धारणा, दुई तिहाइको सरकारको कमजोर प्रतिपक्षको भूमिका, सरकारसँग प्रतिपक्षले गरेको अघोषित सहकार्य, ओली सरकारले गरेका मनपरी र संविधान विपरीतका हरेक क्रियाकलापको मौन साक्षि हुनु, पार्टी हितभन्दा पनि गुट हित र अर्को महाधिवेशनको आन्तरिक तयारी जस्ता क्रियाकपलाका कारण अहिले देशको सबैभन्दा पुरानो र शक्तिशाली पार्टी विभाजित अवस्थामा रहेको छ। र, एमालेसँग एक्लै चुनाव लड्नसक्ने क्षमता गुमाएर चरमराएको वैशाखी टेक्न बाध्य भएको छ।
देउवाले जे बोलिरहेका छन् त्यो सत्य बोलिरहेका हुन्। किनभने कांग्रेस कुन अवस्थामा पुगेको छ भन्ने कुराको सत्य जानकारी उनी बाहेक अरुलाई हुन सक्दैन। सभापतिमा दोस्रो कार्यकाल सुरु गरेका देउवाले पहिलो कार्यकालमा कसरी र किन कांग्रेस कमजोर हुँदै गयो भन्ने भने सहि विश्लेषण गर्न सकेका छन्। उनले कांग्रेस कमजोर भएको सार्वजनिक त गरे तर कसरी कमजोर भयो भनेर कहिले बताएनन्। न देउवाले बताए नत कांग्रेसका कसैले देउवासँग कसरी कमजोर भयो भनेर सोध्ने साहस गरे। कांग्रेसभित्र देउवा विरोधी खेमाका महत्त्वपूर्ण नेताहरुले पनि सभापतिले निर्वाचनको मुखमा आएर बोलेको तीतो सत्य खोतल्न आवश्यक सम्झेका छैनन्। देउवाको अभिव्यक्तिको अन्तरनिहित सत्य बाहिर ल्याउनसक्ने साहस कांग्रेसभित्रका देउवा विरोधीहरुको पनि छैन।
ओलीका क्रियाकलाप प्रतिगमनकारी थिए वा थिएनन् यो विश्लेषणको विषय होला। तर तीन वर्षसम्म प्रतिपक्ष नै नभएझैं चलेको सत्ताले ओलीको महत्वाकांक्षा बढाएको हो। ओलीलाई संवैधानिक व्यवस्थाको विरुद्धमा जाने शाहस र आँट कसले दियो भन्ने हेक्का राख्नुपनि आवश्यक रहेको छ।
कांग्रेस सभापतिकै अभिव्यक्ति अनुरुप एक्लै निर्वाचन लड्न नसक्ने अवस्थामा पुगेको कांग्रेसलाइ यो अवस्थामा पुगाउने तत्त्व के हो ? कार्यकारी अधिकारको चरम दुरुपयोग गरेका ओली, कांग्रेस माओवादीको भाषामा प्रतिगम तिर उन्मुख रहेका ओली, संविधान समाप्त गर्न खोज्ने ओली, तानाशाह बन्न खोज्ने ओली। यति धेरै आरोपमा आरोपित व्यक्तिले नेतृत्व गरेको पार्टीसँग हरेक परिवर्तनको नेतृत्व गरेको कांग्रेस एक्लै निर्वाचन लड्न नसक्ने अवस्थामा किन पुग्यो ? शेरबहादुर देउवाहरुले यसको उत्तर नदिँदासम्म र कांग्रेस कार्यकर्ताहरुले उत्तर नखोज्दासम्म कांग्रेसको अवस्थामा परिवर्तन आउन सक्दैन र कांग्रेसको ओरालो यात्रा जारी रहन्छ भनेर सहज रुपमा बिश्लेषण गर्न सकिन्छ।
ओली शासनका तीन वर्ष फर्केर हेर्ने हो भने कांग्रेस सभापति देउवाले गरेका हरेक निर्णय अहिलेको अवस्था आउनुमा महत्त्वपूर्ण रहेका छन्। उनले पार्टी भत्र जसरी नेतृत्व गरे त्यसले कांग्रेसलाइ यति कमजोर अवस्थामा पुगाउने थिएन। किनभने सबै नेता कृष्णप्रसाद भट्टराई र शुशिल कोइराला हुन सक्दैनन्। तर देउवाले दुई तिहाइ नजिक रहेको सत्ताधारी दलसँग जसरी शक्ति र पदको मोलमोलाइ गरेर उसले सुरु गरेको अतिवादलाइ मौन समर्थन दिइरहे त्यसले कांग्रेसको ओरालो यात्रा सुरु भएको हो भनेर भन्न सकिन्छ। कांग्रेसको नेतृत्वमा भएको परिवर्तन, कांग्रेसकै नेतृत्वमा भएको संविधान निर्माण र कांग्रेसकै नेतृत्वमा भएको संविधानको कार्यान्वयन पछिको निर्वाचनमा जुन लज्जास्पद हार कांग्रेसले बेहोर्यो त्यसबाट देउवाले पाठ सिक्न सकेनन्।
गत स्थानीय तह निर्वाचनमा माओवादीसँग गठबन्धनको फितलो निर्णय गरे। कांग्रेसको आडमा माओवादीले स्थानीय निर्वाचनमा आफ्नो साख जोगायो तर प्रदेश र संघको निर्वाचनमा एमालेसँग तालमेल गरेर कांग्रेसलाइ समाप्त पार्ने प्रयास गर्यो। यति मात्र होइन सत्ता सञ्चालनका क्रममा सातवटै प्रदेश सरकारले जसरी कांग्रेस कार्यकर्ताहरुलाई प्रताडित गरे। त्यसमा एमालेभन्दा माओवादीको दोब्बर बढी भूमिका थियो। देउवाकै गृह प्रदेशमा आज पनि माओवादी र समाजवादी सरकारले जसरी कांग्रेसविरुद्ध सरकारको पूरा शक्ति प्रयोग गरिरहेको छ, त्यो कुरा आजपनि देउवाले हेर्न चाहेका छैनन्।
३ वर्षको ओली सत्तासँग प्रमुख प्रतिपक्षको शक्तिलाइ जसरी देउवा समूहले मोलमोलाइको विषय बनायो, मूलत कांग्रेस कमजोर अवस्थामा पुग्नुको मुख्य कारण यही हो। एकातिर वामपन्थी सरकारले रुन र हाँस्न पनि दिएको छैन भन्ने अभिव्यक्ति दिने अर्कोतिर प्रतिपक्ष नभएको स्थितिको सिर्जना गरि ओलीका हरेक गलत कदमको साक्षी बस्ने दोहरो भूमिकाका कारण अहिले अवस्था सिर्जना भएको हो।
वाम गठबन्धनभित्र सुरु भएको किचलोलाइ नजिकवाट नियालीरहेका देउवाले त्यतिबेला मात्र ओलीविरुद्ध मुख खोले जब सत्ताको नेतृत्व पक्कापक्की जस्तो लाग्यो। नेकपा विभाजन हुँदासम्म पनि देउवाले ओली सरकारकाविरुद्ध बोलेका थिएनन्। गणितीय रुपमा सत्ता प्राप्तिको पक्कापक्की भएपछि मात्र उनले ओलीको प्रतिगमन देखे। त्यसपछि मात्र उनले ओलीको अतिवाद देखे। त्यसअघि लोकतन्त्रमा एउटा प्रतिपक्षले सरकारलाई गलत बाटोमा जान नदिन कुन भूमिका निर्वाह गर्यो ?
छाँया सरकारका रुपमा प्रतिपक्षले निर्वाह गर्नुपर्ने भूमिका कांग्रेस सभापति देउवाको तजबिजमा निहित रह्यो। पार्टीभित्र बोल्ने बोलिरहे, विरोध गर्ने गरिरहे तर सभापति देउवाले त्यो सुन्न चाहेनन्। पार्टी सभापतिमा निर्वाचित भए लगत्तैदेखि उनले अर्कोपटक पनि सभापति जित्ने मानसिकताले काम सुरु गरे। यसका धेरै उदाहरणहरु छन्। सत्ता प्राप्ति भए आउने महाधिवेशनमा पनि सभापति जित्न सकिने आंकलन गर्दै उनले सुरु गरेको सत्ता र शक्तिको दौडले अहिले देउवाले आफैं बयान गरिरहेको जस्तो कमजोर कांग्रेस बन्न पुगेको हो भन्दा अत्युक्ति नहोला।
कांग्रेस कमजोर हुनुमा कार्यकर्ता पनि दोषी हुन भनेर कसैले भन्छ भने त्यो नितान्त मनोगत विश्लेषण हुन जान्छ। किनभने अघिल्लो महाधिवेशनमा कांग्रेसभित्र भएका अभ्यासले कांग्रेसको गाउँ जिल्ला र केन्द्रमा निर्वाचित हुने मध्ये अधिकांस दुई गुटका नेता कार्यकर्ता भए कांग्रेसका कार्यकर्ता नेता हुन सकेनन्। उनीहरुको भूमिका कांग्रेस बलियो बनाउने भन्दा देउवा, पौडेल र कोइरालामध्ये कसलाई बलियो बनाउने भन्नेमा केन्द्रित रह्यो। यो अभ्यासलाइ रोक्ने काम कतैबाट हुन सकेन। गत स्थानीय निर्वाचनमा एमालेले दुई महिना पहिले टिकट बाड्यो भने कांग्रेसले नामांकनको केही घण्टा बाँकी रहँदा अधिकांस स्थानीयतहमा टिक वितरण गरेको दृश्यले परिणाम सहज अनुमान लगाउन सकिन्छ।
कांग्रेस सभापति देउवाकै गृह जिल्ला डडेल्धुरामा स्वयम् सभापति देउवाले पनि कांग्रेसभन्दा व्यक्ति जिताउने अभ्यासलाई प्रोत्साहित गरेको साक्षी धेरै छन्। उनका विश्वासपात्र तत्कालीन जिल्ला सभापतिको निर्देशनमा सदरमुकामको अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिकामा कांग्रेस उम्मेदवार हराइए पनि परशुराम र भागेश्वर जस्ता स्थानीयतहमा हराउने प्रयास गरिए। यी सबै जानकारी प्रमाणसहित देउवा कहाँ पुगाइयो तर देउवाले त्यस्तो गर्ने व्यक्ति नेतालाई नसिहत दिने, कार्बाही गर्नुको साटो प्रोत्साहन दिँदै प्रदेश निर्वाचनमा टिकट नै दिए। यो उदाहरण मात्र हो देउवाको गृह जिल्लाको। जब पार्टी सभापतिकै गृह जिल्लामा यस्तो अवस्था थियो भने देशका अन्य भागमा के भयो होला ? सहज अनुमान लगाउन सकिन्छ।
बितेका ५ वर्ष नेपाली कांग्रेसको इतिहासमै सबैभन्दा बढी पार्टी कमजोर हुने क्रियालापहरु भए। पार्टी सत्ता कब्जा गर्ने एकमात्र उद्देश्य कांग्रेसको संस्थापनले लियो भने पार्टी सत्ता कसरी खोस्ने भन्ने ध्याउन्नमा संस्थापन इतर पक्षका नेताहरु लागे। जसकाकारण नेपाली कांग्रेसको ओरालो यात्रा बलियो बन्दै गएको हो। पछिल्लो महाधिवेशनसम्म आइपुग्दा नेपाली कांग्रेसभित्र यति धेरै विकृतिहरु फैलिसकेका थिए कि अहिलेको गाउँ जिल्ला र केन्द्रका अधिवेशनमा कांग्रेस कम व्यवसायी, ठेकेदार र दलालहरुको बाहुल्यता बढेर गयो। जसको परिणाम हो स्वयम् सभापतिले भने जस्तो कमजोर नेपाली कांग्रेस, आफ्नै बलवुतामा निर्वाचन लड्न नसक्ने लंगडो भएको कांग्रेस र माओवादी जस्ता अतिवादी र सिद्धान्तबिहीन पार्टीको वैशाखी टेकेर निार्वचनमा जानुपर्ने निरीह कांग्रेस।
बितेका ५ वर्षमा कांग्रेसको मूल चरित्रको ठाउँमा दलाल संस्कृतिले जन्म लियो र नेतृत्वको सत्ता शक्ति मोहले फल्ने फुल्ने राम्रो मौका पायो। बहुमत जनताले चाहेको कुरा नै नीति बनाउने कांग्रेसको परम्परा समाप्त भयो। मास पार्टीका रुपमा रहेको कांग्रेसको चरित्र धन र बाहुबल बाहुल्य पार्टीको रुपमा विकसित भयो। नेताहरुको चाकरी चाप्लुसी मात्र मूल्यांकनको पद्धति बन्यो। असल कार्यकर्ता, सिद्धान्तवादी कार्यकर्ता, प्राजातान्त्रिक समाजवादलाइ मूल आदर्श मानेर राजनीतिमा जीवन समर्पण गरेका कार्यकर्तालाइ उठ्न नसक्ने गरि कांग्रेस नेतृत्वले समाप्त पार्ने काम गर्यो। ५ वर्ष यति धेरै कहाली लाग्दो समया भयो कि अहिलेको निर्वाचन आउँदा नआउँदै कांग्रेसका त्यस्ता नेता कार्यकर्ता धनबली, बाहुबली र चाकरी चाप्लुसीवालाहरुको छायामा हराएर गए।
निर्वाचनको मुखमा आएर आफ्नो पार्टी निकै कमजोर रहेको अभिव्यक्ति दिएर भएका कार्यकर्ताको मनोबल समाप्त पार्ने कुन उद्देश्य र आशय कांग्रेस सभापतिको हो त्यो अहिले नै किटान गर्न सकिदैन। तर विश्लेषण गर्दा के भन्न सकिन्छ भने सभापति देउवा आउँदो संसदीय निर्वाचन पछि पनि प्रधानमन्त्री बन्न चाहन्छन र कुनै निहीत उद्देश्य प्राप्ति गर्न वाम पार्टीहरुको दूरी बढाएर राख्न चाहन्छन्।
पार्टीको शक्ति प्रयोग गरेर आफ्नो निहित उद्देश्य प्राप्तिका लागि उनले जुन आत्मघाती खेल सुरु गरेका छन्। यसले कांग्रेसको ओरालो यात्रालाई थप बलियो बनाएको भन्न सकिन्छ। पछिल्लो समय प्रधानमन्त्री पत्नी आरजु राणाको चुलिएको राजनैतिक महत्वाकांक्षा बाहेक सभापति देउवाको अर्को निहीत उद्देश्य के हुन सक्ला ? सम्भावनाका कुरा गर्दा पहिलो नम्बरमा उनको त्यो उद्देश्य कमजोर कांग्रेसमा आफ्नी धर्मपत्नीको बलियो पकड बनाउने बाहेक के हुन सक्ला भनेर धेरैले अनुमान गरिरहेका छन्। तर डा. आरजु देउवा आफैंमा शक्तिशाली हुन्। उनको राष्ट्रिय अन्तर्राष्टिय सम्बन्ध बलियो छ। उनी आर्थिक रुपमा मजबुत छन्। सामाजिक रुपमा उनले मुलुकमा गरेका विभिन्न क्रियाकलाले उनको राजनैतिक छवि बनाउन सभापति देउवाको आड आवश्यक देखिँदैन।
यदि यो विश्लेषण गलत हो भने अर्को निहीत उद्देश्य के हुन सक्ला ? के उनी कुनै शक्ति राष्ट्रको जालमा फसेर कांग्रेसको शक्ति क्षय गरिरहेका हुन् ? यदि यसो हो भने त्यो कुन शक्ति हुनसक्छ र त्यो शक्तिको अभिष्ट के हुन सक्ला ? एमसीसीलाई जसरी उनले संसदबाट पास गराए, एमसीसी पास गराउन उनले माओवादी र समाजवादीका हरेक मागका सामु आत्मसमर्पण गरे त्यसले यो सम्भावनालाइ नर्कान मिल्दैन। एमसीसी पास गर्दा पर्दा पछाडि माओवादी र समाजवादीसँग भएका सम्झौता अनुरुप नै उनी अहिले निर्वाचनको मुखमा आएर गठबन्धनका लागि कार्यकर्तालाई मानसिक रुपमा तयार गर्न कांग्रेस एक्लै निर्वाचन लड्न नसक्ने अभिव्यक्ति दिइरहेका हुन कि ?
सम्भावनाहरु जे पनि हुन सक्छन्। किनकी देउवाको सत्ता चरित्रको विगत धेरै राम्रो भन्न सकिने छैन। विगतलाई स्मरण गर्ने हो भने सत्ताका लागि उनले गरेका धेरै क्रियाकलाप इतिहासका पानामा नराम्ररी लेखिने खाले छन्। समयको गतिसँगै देउवाले विगतमा लागेका दाग पखालेर राजनैतिक जीवनको उत्तराद्र्धमा देश हितमा महत्त्वपूर्ण योगदान गर्लान् भन्ने धेरैको अनुमान उनका क्रियाकलापले गलत सावित हुन थालेको छ। के अर्कोपटक प्रधानमन्त्री हुनकै लागि मात्र उनका त्यस्ता क्रियाकलाप र अभिव्यक्ति आएका हुन ? त्यो चाहिँ ओरालो यात्रामा लागेका कांग्रेसका शुभचिन्तक र कार्यकर्ता मान्न तयार देखिँदैनन्।