‘कैलालीमा पनि गठबन्धन हुन्छ, हुन्छ, हुन्छ’
धनगढीः नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले आफ्नो जिल्लामा पनि चुनावी गठबन्धन हुने बताएका छन्। सभापति भट्टले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा हालको पाँच दलीय सत्ता गठबन्धन हुने उनले बताएका हुन्।
कैलालीमा चुनावी गठबन्धन हुन्छ कि हुँदैन भन्ने दिनेशखबरको प्रश्नमा जिल्ला सभापति भट्टले भने, ‘गठबन्धनको सरकार छ। मेरो पार्टीका केन्द्रीय सभापति पनि गठबन्धनकै आधारमा प्रधानमन्त्री हुनुभएको छ। त्यसैले गठबन्धन हुन्छ, हुन्छ, हुन्छ। तर आवश्यकताको आधारमा हुन्छ।’
कैलालीमा आवश्यकताको आधारमा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चुनावी तालमेल हुने काँग्रेसले जनाएको छ। अन्य जिल्लामा गठबन्धनबारे टुंगो लागिसकेको अवस्थामा कैलालीमा भने छलफलको क्रम जारी भएकाले छिट्टै निर्णय आउने उनले बताए।
यस्तै जिल्ला सभापति भट्टले सुदूरपश्चिम प्रदेश सरकारमा पनि गठबन्धनले कांग्रेसलाई स्थान दिनुपर्ने बताएका छन्। प्रदेश सभापति बिरबहादुर बलायरले चुनावी गठबन्धन हुँदैन भन्दै दिएको अभिव्यक्तिलाई बचाऊ गर्दै भट्टले सुदूरपश्चिममा सरकारमा काँग्रेसले स्थान पाउनुपर्ने बताएका हुन्। ‘सरकारमा बस्ने। कांग्रेसलाई मन्त्री नदिने। प्रतिपक्षमा राख्ने। बिरबहादुरजीले उठाएको कुरा स्वभाविक हो,’ उनले भने।