एघार सङ्क्रमित थपिए
काठमाडौँ: देशभर आज ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार ३६० जनामा कोरोना परीक्षण गर्दा ११ जनामा सङ्क्रमण देखिएको छ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ९४२ जना रहेका छन् । पछिल्लो समय ९० जना सङ्क्रमण मुक्त भएका छन्। यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६५ हजार ५५९ पुगेको छ। यो दर ९८।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
शून्य सङ्क्रमित भएको १९ जिल्ला छन्। सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, सप्तरी, चितवन, नुवाकोट, दोलखा, भक्तपुर, मनाङ, मुस्ताङ, रुकुमपूर्व, दाङ, रुपन्देही सल्यान, जाजरकोट, जुम्ला, डोल्पा, बाजुरा र हुम्लामा शून्य सङ्क्रमित छन्।
नेपालमा सङ्क्रमण दर १७।६ प्रतिशत छ। हाल होम आइसोलेशनमा ९०२, संस्थागत आइसोलेशनमा ४०, आइसीयूमा १६ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ। विगत २४ घण्टामा ५६ हजार ९९३ जनाले खोप लगाएका छन्।