सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

२०७८ चैत्र १८, ०४:१९ रासस

मुगु: मुगुमा जनस्वास्थ्यको समस्याका रुपमा रहेका टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका २८ हजार ७८३ बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो। बहुवर्षीय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्यअनुरुप यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ। 

टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई लगाउन लागिएको कार्यालय प्रमुख उमेश गौतमले जानकारी गराए। एक भायलमा पाँच मात्रा रहेको रङविहीन तयारी झोलका रुपमा रहेको खोप एक जनालाई शून्य दशमलव पाँच एमएल दिइने उनको भनाइ छ। 

प्रमुख गौतमका अनुसार खोप अभियानका लागि खोप लगाउने स्वास्थ्यकर्मीको तालिमसमेत सञ्चालन गरिनेछ। अभियानअन्तर्गत २१ हजार ११६ विद्यार्थी र विद्यालय बाहिरका १५ महिनादेखि १५ वर्षसम्मका सात हजार ६६७ बालबालिकालाई खोप दिइने प्रमुख गौतमले जानकारी दिए। “यस खोप अभियानमा खोप लगाउनुपर्ने उमेर समूहको ठूलो हिस्सा विद्यालयमा रहने हुँदा बालबालिकाको सहजताका लागि सबै वडाका विद्यालयमा नै खोप कार्यक्रम सञ्चालन हुनेछ”, उनले भने, “यससँगै वडा कार्यालय र आवश्यक परे स्वास्थ्य संस्थामा पनि खोप लगाउने व्यवस्था गछौँ।”

टाइफाइड खोपको प्रभावकारिता ९६.९७ प्रतिशत रहेको बताइन्छ। यो खोप लगाउँदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउनेलगायतका समस्या देखिए पनि जटिल प्रकारको समस्या नआउने प्रमुख गौतमले बताए। प्रतिलाखमा एक जनालाई जटिलता हुनसक्ने भनिएकाले त्यस्ता अनपेक्षित घटना भइहालेमा तत्काल उपचार गर्नका लागि आकस्मिक औषधिको समेत व्यवस्था गरिएको उनको भनाइ छ। टाइफाइड रोकथामका लागि यो खोप प्रभावकारी हुने विश्वास गरिएको छ।

विश्व स्वास्थ्य सङगठनका अनुसार टाइफाइडबाट विश्वमा हरेक वर्ष दुई करोड मानिस बिरामी हुने गरेका छन्। तीमध्ये करिब एक लाख ६१ हजारले ज्यान गुमाउने गरेको तथ्याँक छ। नेपालमा भने प्रतिएक लाखमा एक हजार ६२ मा टाइफाइडको सङ्क्रमण दर रहेको छ भने १५ वर्षमुनिका बालबालिकामा प्रतिएक लाखमा १० हजार ९६० सङ्क्रमण  दर रहेको बताइएको छ। बालबालिकालाई दिइँदै आएको नियमित १२ खोपमा थप एक टाइफाइडविरुद्घको थपेर अवदेखि नियमित खोप दिइने छ। 

अभियानका बेला जिल्लाका १५८ विद्यालय र बाँकी स्वास्थ्य संस्था गरी कुल १७० खोप केन्द्रबाट खोप दिइने खोप सुपरभाइजर दीपक रावतले बताए। 
 

कमेन्ट लोड गर्नुस