सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री देउवालाई भारतीय रक्षाराज्यमन्त्रीले स्वागत गर्ने

२०७८ चैत्र १८, ०२:४२ खबर संवाददाता

नयाँदिल्लीः प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका रक्षा तथा पर्यटनराज्यमन्त्री अजय भट्टले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन्। तीनदिने भ्रमणका लागि केही बेरमा नयाँदिल्ली अवतरण गर्न लागेका प्रधानमन्त्री देउवासहितको भ्रमणटोलीको स्वागतमा राज्यमन्त्री भट्टले स्वागत गर्ने भएका हुन्। प्रधानमन्त्री देउवाको स्वागतमा दिल्ली विमानस्थलमा बोर्डहरू पनि राखिएका छन्।

देउवाको स्वागतमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तव पनि विमानस्थल पुगेका छन्। प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादव पनि रहेका छन्।

प्रधानमन्त्री देउवासँग शुक्रबार दिउँसो साढे ४ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गर्नेछन्। भ्रमण टोली नयाँदिल्ली चाणक्यपुरीस्थित होटल आईटीसी मौर्यमा बस्नेछ। त्यहीँ विदेशमन्त्री जयशंकरसँगको भेटवार्ता तय भएको हो।

कमेन्ट लोड गर्नुस