सुदूर नेपाललाई विश्वसँग जोड्दै

आयोगको तयारीमा शिक्षक, धमाधम विद्यालय बन्द गर्दै स्थानीय तह

२०७८ चैत्र १५, १०:१९ नारायण अवस्थी

धनगढी : सुदूरपश्चिमका स्थानीय तह धमाधम विद्यालय बन्द गर्न थालेका छन्। अधिकांश शिक्षक, आयोगको तयारीमा जुटेर बिदा बस्न थालेपछि स्थानीय तहहरु धमाधम विद्यालय बन्द गर्न थालेका हुन्। डडेल्धुराको परशुराम नगरपालिकाले पनि सबै सरकारी विद्यालय चैत १४ देखि १८ गतेसम्म ५ दिन बन्द गर्ने औपचारिक निर्णय गरेको छ।

चैत ११ गतेको नगर शिक्षा समितिको बैठकले अधिकांश विद्यालयमा कार्यरत राहत, निजी स्रोत र नगर शिक्षक आयोगको परीक्षा दिन जाने भन्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। नगरपालिकाअन्तर्गत सञ्चालित सरकारी विद्यालयका ८० प्रतिशत शिक्षक परीक्षा दिन कैलाली र कञ्चनपुर केन्द्रित भएपछि बिदा दिने निर्णय गरेको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरूले दिनेशखबरलाई बताए। ’बिदा दिने निर्णय शिक्षा समितिले गरेको हो,’ उनले भने, ’सबै विद्यालय बन्द हुँदैनन्। जुन विद्यालयबाट शिक्षक परीक्षा दिन गएका छैनन् ती खुला नै रहन्छन्। राहत, करार र निजी स्रोतबाट राखिएका शिक्षकले प्रधानाध्यपकसँग बिदा दिनपर्ने माग गरेपछि बिदा दिइएको हो।’

शिक्षक सेवा आयोगले सुदूरपश्चिम प्रदेशका ९ जिल्लाको परीक्षा केन्द्र कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा रहेका विभिन्न विद्यालयमा तोकेको छ। परीक्षा दिन जाने शिक्षकको संख्या बढी र स्थायी शिक्षकको संख्या थोरै भएकोले बर्खे बिदाबाट कट्टी गर्ने गरी अहिले ५ दिनको बिदा दिइएको बैतडीको दोगडाकेदार गाउँपालिकाले जनाएको छ।

थोरै शिक्षकले विद्यार्थी पठनपाठन गर्न सम्भव नहुने भएकोले बिदा दिइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेशराज भट्टले दिनेशखबरलाई बताए। ’हाम्रो स्थानीय तहमा रहेका अधिकांश विद्यालयका शिक्षकहरू परीक्षा दिन कैलाली कञ्चनपुर जाने भएकोले ५ दिनको बिदा दिने निर्णय भएको हो,’ उनले भने, ’सबै ठाउँबाट बिदा दिनुपर्ने सुझाव आएपछि बर्खे बिदाबाट कट्टी हुने गरी बिदा मिलाइएको हो।’

सरकारी विद्यालयमा शिक्षकको अनुपस्थितिमा समेत पठनपाठन गर्न सकिन्छ भन्ने तथ्य व्यवहारमा उतार्न नखोज्नु, शिक्षक निकै अल्छी हुनु र विद्यालयमा भएका शैक्षिक सामग्रीको प्रयोग गर्ने अभिरुचि शिक्षकमा नहुनु जस्ता कारणले शिक्षक सेवा आयोगले लिने परीक्षाको बाहना बनाएर सरकारी विद्यालय बन्द गरिएको अभिभावकले बताएका छन्।

अहिले सरकारी विद्यालयमा वैकल्पिक साधन, आइसिटी प्रयोगशाला तथा पठनपाठनका श्रव्यदृश्य सामग्री भए पनि प्रयोगमा शिक्षकहरूले ध्यान नदिएकोले विद्यार्थीहरूलाई सिकाईबाट बिमुख गराउने काम हुनु गलत भएको तर्क गरिएको छ। तर स्थायी शिक्षकको संख्या कम भएकोले विद्यार्थी नियन्त्रण गर्न नसकिने भन्दै प्रधानाध्यापकहरूकै आग्रहमा ४ दिन विदा दिएको पुनर्वास नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवराज भट्टले दिनेशखबरलाई बताए। ’सरहरू सबै परीक्षा दिन जाने भए, हामीले मात्रै के गर्ने भनेर हेडसरहरूले फोन गरेर भन्न थाले,’ उनले भने, ’हेडसरहरूको आग्रहमा नै बिदा दिने निर्णय गरिएको हो।’

विद्यालयमा सामूहिक कक्षा सञ्चालन गरेर पनि पठनपाठन गर्न सकिने भए पनि त्यो गर्न शिक्षकले इच्छा नराख्दा वार्षिक परीक्षाको मुखमा बिदा दिने काम गर्नु गलत भएको शिक्षा क्षेत्रका सरोकारवालाले बताएका छन्। विद्यार्थीलाई स्वअध्ययन गर्न, सामूहिक अध्ययन गराउन, उपलब्ध प्रविधिको प्रयोग गर्न र गराउन पालिकाहरुले पनि नसकेको पाइएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस