बलायरले तेस्रोपटक भने– स्थानीय तहको चुनावमा गठबन्धन हुँदैन
'प्रचण्ड र माधवको पार्टी फलाउन कांग्रेसमा आगो लगाउँदैनौं'
डडेल्धुराः नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले स्थानीय निर्वाचनमा चुनावी गठबन्धन नहुने बताएका छन्। गत महिना डोटी र केही दिनअघि दार्चुलामा आयोजित कार्यक्रममा हालको पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचनमा नहुने बताउँदै आएका उनले सोमबार डडेल्धुरा पुगेर पनि सो कुरा बताएका हुन्।
प्रेस युनियन डडेल्धुरा शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सिंहदरबारका लागि गठबन्धन भए पनि स्वच्छ रूपमा गठबन्धन नहुन सकेको तर्क गरेका छन्। ‘सुदूरपश्चिममा हामीहरू न सरकारमा छौं, न सत्तामा छौंं। तर, यो सरकारलाई हामीले साथ दिइरहेका छौं,’ उनले भने, ‘यदि गठबन्धन हो भने त सुदूरपश्चिममा कांग्रेस सरकारमा हुनुपथ्र्यो। प्रदेश सरकारमा कांग्रेसलाई ल्याउन नचाहेकाले गठबन्धनको सम्भावना टाढिएको छ।’ चुनाव नजिकिँदै गर्दा पनि सुदूरपश्चिममा अहिलेसम्म छलफल नभएको उनले भनाई थियो। ‘हामी गठबन्धन गरौं भनेर कसको दैलोमा जाने ? त्यसैले हामीले जनतालाई कांग्रेस एक्लै चुनावमा जाने सन्देश दिएका छौं,’ उनले भने।
फरक प्रसंगमा बोल्दै बलायरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारम्बार डराइरहने भएकोले कहिले एमाले र कहिले कांग्रेससँग मिल्ने गरेको बताए। ‘प्रचण्ड र माधव जीको पार्टी फलाउन फुलाउन आफ्नो पार्टीमा हामी आगो लगाउन सक्दैनौं। काँग्रेस बलियो हुँदा मिल्नु हुन्छ। सत्तामा खान र लुट्न झगडा हुँदा फेरि मिल्नुहुन्छ’ उनले भने।
तर, कांग्रेस सभापति शेरबहादुर देउवाले भने अबको चुनावमा गठबन्धन गरेरै जानु पर्ने बताउँदै आएका छन्। आजमात्रै केन्द्रीय कार्य समिति बैठकमा शेखर कोइरालासहितका केही नेताले गठबन्धनको विरोधमा कुरा राखेपछि सभापति देउवाले गठबन्धन गरेर जाँदा नै सबैले जित्ने बताएका हुन्।