सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बढ्यो वायु प्रदुषण, यी सहरमा बढी जोखिम

धनगढी
धनगढी
२०७८ चैत्र ११, ०६:२८ नारायण अवस्थी

धनगढी : सुदूरपश्चिमका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्लामा यो वर्षको मध्य चैतमा वायु प्रदुषण बढेको छ। वायु गुणस्तर इन्डेक्स(एक्युआई) को मापनअनुसार धनगढीमा शुक्रबार मध्यान्ह १ बजे एक्युआई ११७ मापन गरिएको छ।

जुन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ८ दशमलव ४ गुणा बढी प्रदुषण हो। वायु गुणस्तर इन्डेक्स ५० सम्म हुनु सामान्य भएपनि त्योभन्दा बढी हुँदा सबै उमेर समूहका व्यक्तिमा स्वास्थ्य समस्या देखिने स्वासप्रस्वास रोग विषेशज्ञ डाक्टर पंकज पन्तले दिनेशखबरलाई बताए। 'वायुको गुणस्तर मापन ५० एक्युआईसम्म सामान्य मानिन्छ तर नेपालमा अहिले सबै ठाउँमा वायु प्रदुषण बढेको मापन गरिएको छ,' उनले भने, 'लामो समयसम्म वायु प्रदुषणको सामना गर्नुपरे स्वासप्रस्वास, मुटु, छाला तथा आँखाको समस्या, क्यान्सर तथा हृदयघात, मस्तिष्कघात जस्ता स्वास्थ्य समस्या देखा देखिन्छन्।'

सुदूरपश्चिममा सबैभन्दा बढी वायु प्रदुषण कञ्चनपुरको महेन्द्रनगरमा रहेको मापन गरिएको छ। महेन्द्रनगरमा एक्युआई १४० पुगेको छ। कैलालीको अत्तरियामा एक्युआई १३१ र टीकापुरमा १२४ मापन गरिएको छ। वायु प्रदुषणले स्वासप्रश्वास रोगसहित छाला, आँखा, मुटु तथा अन्य धेरै प्रकारका स्वास्थ्य समस्या हुने भएकोले वायु प्रदुषण बढेको समयमा मास्क लगाउन, दैनिक व्यायामका लागि बाहिर ननिस्किन र घरको झ्याल ढोका बन्द गरेर सकभर घरभित्र नै बस्न सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले दिनेशखबरलाई बताए।

'वायु प्रदुषण भएको समयमा विहान घर बाहिर शारिरीक अभ्यास नगर्ने र मास्क लागएर काममा जानु राम्रो हुन्छ,' उनले भने, 'वायु प्रदुषण बढेको समयमा घरभित्रै बस्न सके राम्रो हुन्छ। बाहिर काममा जानुपरे पनि पुरै जिउ ढाक्ने लुगा र मास्क लगाउँदा ठीक हुन्छ।' 

सुदूरपश्चिमका पहाडी जिल्लामा पनि वायु प्रदुषण बढेको छ। बझाङमा एक्युआई ९८ पुगेको छ भने डडेल्धुरामा ११२, दीपायलमा ११० पुगेको छ। बैतडीमा एक्युआई सबैभन्दा बढी ११४ पुगेको छ। सवारी साधनको संख्यामा भएको अत्यधिक वृद्धिले पेट्रोल डिजेलको खपत बढाएको र त्यसबाट निस्कने धुँवा, धुलाम्मे सडक, प्लास्टिकजन्य फोहर जालाउनु, वनमा लाग्ने डढेलोको कारण वायु प्रदुषण बढ्ने गरेको र वायु प्रदुषण सबैखाले रोगको कारण हुने डाक्टर पन्तले बताए।

'अहिले सवारी साधनको संख्या पनि निकै बढेको छ। जथाभावी फोहर जलाउने काम पनि गरिन्छ,' उनले भने, 'यी सबै कारणले प्रदुषणको मात्रा बढेको छ।' गर्मी बढेसँगै पानी पर्न छोडेको र सडक तथा सवारीबाट निस्कने धुलो धुँवाले जनस्वास्थ्यमा समस्या गर्ने भन्दै चिन्ता गरिएको छ। सुदूरश्चिमका सबै स्थानमा आगामी हप्तामा वायु प्रदुषणको मात्रा झनै बढ्ने पूर्वानुमान गरिएको छ। 
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस