सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुच्चे नक्साको विपक्षमा उभिएकी सरिता गिरीको रिटमा सुनुवाइ हुँदै

२०७८ चैत्र १०, ०१:०९ खबर संवाददाता

काठमाडौँः पदमुक्त भएकी संघीय सांसद सरिता गिरीको रिट निवेदनमा बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशहरू टंकबहादुर मोक्तान र नहकुल सुवेदीको संयुक्त इजलासमा रिटको पेसी तोकिएको छ।

संघीय संसद् सचिवालयले गैरकानुनी रूपमा सांसद पदबाट निष्कासन गरेको भन्दै उनी २८ असार २०७७ मा सर्वोच्च पुगेकी थिइन्। रिटमार्फत उनले निष्कासन गर्ने सचिवालयको निर्णयलाई खारेज गर्न मागसमेत गरेकी छन्। जनता समाजवादी पार्टीको संसदीय दलले निष्कासन गर्न भन्दै सचिवालयलाई पठाएको पत्र पनि गैरकानुनी भएको उनको जिकिर छ।

यसअघि ४ साउन २०७७ मा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको संयुक्त इजलासले गिरीको मुद्दामा अन्तरिम आदेश दिनुपर्ने निर्णय गरेको थियो। सरकारले विवादित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरासमेत समेटेर राजनीतिक नक्सा जारी गरेपछि निशान छापमा नक्सा परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव दर्ता गर्दा गिरी प्रस्तावको विपक्षमा उभिएकी थिइन्। 

पार्टीकै सांसद प्रस्तावको विपक्षमा उभिएपछि जसपाले ह्विप जारी गरेको थियो। गिरी संसद् बैठक बहिष्कार गर्दै बाहिरिएकी थिइन्। त्यसपछि उनलाई उमाशंकर अरगरिया प्रमुख सचेतक रहेको जसपाको तत्कालीन संसदीय दलले पार्टीको साधारण सदस्यबाट हटाउँदै सांसद पदबाट निष्कासन गर्न संसद् सचिवालयलाई पत्राचार गरेको थियो। पत्राचारपछि सचिवालयले उनलाई निष्कासन गरेको थियो। त्यसविरुद्ध उनी सर्वोच्च पुगेकी हुन्। 
 

कमेन्ट लोड गर्नुस