हत्या योजना बनाउने एक जना पक्राउ
जनकपुरधामः अपराधिक षड्यन्त्र (हत्या योजना) गरेको आरोपमा सर्लाहीका एक व्यक्तिलाई प्रहरीले म्याग्दीबाट नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–९ बस्ने विश्वराज पोखरेल छन्। उनलाई म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङबाट म्याग्दी प्रहरीकै समन्वयमा पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ।
पोखरेलले आफूविरुद्ध ज्यान मार्ने उद्देश्यले अपराधिक षड्यन्त्र गरेको भन्दै हरिवन ११ का अर्जुन रायमाझी भनिने सिद्धीबहादुर रायमाझीले गत २१ पुसमा दरर्खास्त दिएका थिए।
दरखास्त परेपछि सर्लाही जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले बताए।
पक्राउ परेका पोखरेल पटक–पटक विभिन्न नम्बरको सिमकाड परिवर्तन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।