कैलालीको चुरे गाउँपालिकाले आफ्नै कार्यालय जोड्ने सडक पनि स्तरीय बनाउन सकेन
स्थानीय तह समिक्षा
धनगढीः कैलालीको चुरे गाउँपालिकामा नेकपा एमालेबाट विजयी भएका अध्यक्ष छन्। नेपाली काँग्रेस, माओवादी केन्द्र लगायत दलका उम्मेदवारलाई हराउँदै गाउँपालिका अध्यक्षमा धनबहादुर रोकामगर विजयी भएका थिए। उनको कार्यकालको पाँच वर्ष पूरा हुँदैछ। तर गाउँपालिकाका नागरिकको जंगलमा बास छ।
चुरे गाउँपालिकाका झण्डै पाँच सय परिवार चुरे फेदीको जंगलमा एक वर्षदेखि बास बस्दै आएका छन्। उनीहरुको व्यवस्थापनमा गाउँपालिकाका जनप्रतिनिधि असफल देखिएका छन्। चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोका मगरले भन्छन्, ‘हामीले तथ्यांक संकलन लगायतका काम गरेका छौं। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २ पटक भेटेका थियौं। तर उहाँले आफू केही गर्न नसक्ने बताउनुभयो। संघीय सरकारसँग पनि आग्रह गरे। तर अझै उहाँहरुको जंगलमा बास छ।’ उनले खानेपानी, त्रिपाल बाहेक अन्य सहयोग गर्न नसकेको बताए।
निर्वाचनको पाँच वर्ष पूरा हुनै लाग्दा चुरे गाउँपालिकाको कार्यालयसम्म जाने सडकसमेत स्तरीय छैन। सहजपुरदेखि चुरे गाउँपालिकाको कार्यालयसम्म जोड्ने सडकको अवस्था नाजुक रहेको नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार टिकाराम ढुंगानाले बताए। उनले भने, ‘निर्वाचनका समयमा भन्दा सडकको अवस्था नाजुक छ। गाउँपालिकाको कार्यालयसम्म जाने सडकको हालत कस्तो भएको छ। कार्यालय जोड्ने सडक, खैराला जोड्ने सडक, निगाली, पखिर जोड्ने सडकको दुरावस्ता भएको छ।’ उनका अनुसार जनप्रतिनिधिले घोषणा गरेको २५ प्रतिशत पनि काम भएको छैन।
जिल्लाको चुरे गाउँपालिकामा सबै नागरिकलाई स्वास्थ्य र शिक्षामा पहुँच पु¥याउने एमालेका उम्मेदवार धनबहादुर रोकामगरको घोषणा थियो। गाउँपालिकामा विद्यालय र स्वास्थ्यका भवनहरु निर्माण गरिएको छ। तर अध्यापनका लागि शिक्षक र स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव छ।
नेता ढुंगानाले भने, ‘उहाँहरुले घोषणापत्र राम्रो बनाउनु भएको थियो। तर घोषणा पत्र अनुसार काम गर्न सक्नुभएन। उहाँहरुले पाँच वर्षसम्म पनि कर्मचारीको पदपूर्ति गर्न सक्नुभएन।’
यस्तै माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार बनेका किसन साउँद (विशाल)ले पनि निर्वाचनको समयका घोषणाहरु भुलेको प्रतिक्रिया दिए। उनले भने, ‘म विजयी भएन। विजयी भएकाहरुलाई सोध्नु। मैले निर्वाचनका घोषणाहरु भुलिसके।’
चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले भने सडक क्षेत्रमा सबैभन्दा ठूलो प्रगति गरेको दाबी गरेका छन्। ‘पाँच वर्षमा धेरै काम भएको छ। सबैभन्दा ठूलो बजेट सडकमा खर्च भएको छ। सडकको प्रगति प्रमुख हो। अरु पनि काम भएका छन्’ उनले भने।