सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील छ’

२०७८ चैत्र ५, ०६:०८ रासस

बनेपा : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको बताएका छन्। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ स्थित मण्डनदेउपुर आधारभूत अस्पताल भवनको उद्घाटन गर्दै उनले जनताको स्वास्थ्योपचारका लागि सरकार निरन्तर लागिपर्ने विश्वास दिलाए।

कोरोना सङ्क्रमणबाट बच्नका लागि नागरिकलाई खोप लगाउने अभियान सञ्चालन गरिरहेको बताउँदै उजले खोप लगाउन बाँकी नागरिकलाई पनि समयमा नै खोप लगाउन आग्रह गरे। अहिलेसम्ममा बालबालिका, सैनिक, प्रहरी र कर्मचारीको लागि अस्पताल निर्माण गरिसकेको उल्लेख गर्दै मन्त्री खतिवडाले अब सरकारले ५० वर्ष भन्दामाथिका नागरिकका लागि पनि अस्पताल खोल्ने स्वास्थ्य मन्त्रालयले निर्णय गरिसकेको जानकारी दिए।

यसअघि शिक्षकको लागि अस्पताल निर्माण गर्ने निर्णय भइसकेको उनले बताए।मन्त्री खतिवडाले पछिल्लो समयमा सरकारले १२ वर्षदेखि माथिका नागरिकलाई खोप लगाउने व्यवस्था गरेर खोप अभियान सञ्चालन गर्दै अधिकांश नागरिकलाई खोप लगाइसकेको बताए। त्यस्तै पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन खरिद प्रक्रिया अगाडि बढिसकेको बताउँदै उनले विश्व स्वास्थ्य सङ्गठनले अनुमति दिने वित्तिकै लगाउने गरी तयारी अवस्थामा सरकार रहेको बताए।
 

कमेन्ट लोड गर्नुस