कानूनमन्त्रीको गृहजिल्ला दार्चुलामा ७ घण्टा टिकेनन् अधिकृत
दार्चुला: दार्चुलाको लेकम गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरबहादुर ठगुन्नाको कानून विपरीत सरुवा गरिएको छ। पदस्थापन भएको तीन दिन र कार्यालयमा हाजिर भएको सात घण्टामै कानूनलाई कुल्चदै कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूको सक्रियतामा अधिकृत ठगुन्नाको जिल्ला समन्वय समिति दार्चुलामा सरुवा गरिएको हो।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को (४) बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरित्त समुहमा दरबन्दी कायम राखि शाखा अधिकृत ठगुन्नालाई कामकाजका लागि चैत १ गते लेकम गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा पठाइएको शाखा अधिकृत विवेक बिडारीद्धारा हस्ताक्षरीत पदस्थापन पत्रमा उल्लेख गरिएको छ।
अधिकृत ठगुन्नालाई यहि चैत १ गते मन्त्रायलले दार्चुलाको लेकम गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सहित नियुक्ती प्रदान गरेको छ। पदस्थापन भएको तीन दिनपश्चात चैत ४ गते विहान १० बजे अधिकृत ठगुन्ना लेकम गाउँपालिकामा हाजिर भइ सोको जानकारी दिउँसो नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाइएको छ।
तर दार्चुला घर भएका नेपाली कांग्रेशका केन्द्रीय सदस्य एवं नेपाल सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूको सक्रियतामा हाजिर भएकै दिन अधिकृत ठगुन्नाको सरुवा गरिएको छ । मन्त्रालयको चलानी नम्बर ९९७ मिति २०७८ साल चैत ४ गतेको पत्रबाट अधिकृत ठगुन्नाको सरुवा संसोधन गरि जिल्ला समन्वय समिति दार्चुलामा कायम गरिएको छ। उ
क्त सरुवा पत्र शुक्रबार बेलुकी कार्यालय समय सकिएपश्चात बेलुकी ४ः३२ बजेको समयमा कानूनमन्त्री दिलेन्द्र बडूको सचिवालयबाट लेकम गाउँपालिका कार्यालयको इमेलमा आएको छ। संघीय मामिलाले गर्ने सरुवा कार्यको पत्र मन्त्री बडूको सचिवालयबाट लेकम गाउँपालिकामा आएपछि मन्त्री बडूको सक्रियता र दबाबमा अधिकृत ठगुन्नाको सरुवा भएको स्पष्ट हुने बताइएको छ। निजामती सेवा ऐन को दफा १८ को ३ मा कर्मचारीको चाहाना विपरीत कम्तिमा डेढ वर्षसम्म सरुवा गर्न नपाउने व्यवस्थाको स्वयम कानून मन्त्रीबाटै उल्लंघन भएको भन्दै चर्को आलोचना भइरहेको छ।
हाजिर भएको ७ घण्टा ३२ मिनेटमा नै मन्त्रीको संलग्नतामा एक अधिकृतको नियम विपरीत सरुवा हुनुलाई सामान्य रुपमा लिन नहुने कानूनकर्मीहरु बताँउछन्। कानून मन्त्रीको सचिवालयबाट प्रमुख प्रशासकिय अधिकृतको सरुवापत्र बाडिएको विषय सामान्य नभएको र यसले मन्त्रीहरुनै भ्रष्टाचार र अस्थिरतालाई प्रशय दिने काममा हात घसेर लागेको स्पष्ट हुने अधिवक्ता किरन केशीले बताए। लेकम गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुदा विगत केही महिना यता अधिकृत छैटौँ नारायणदत्त भटट्लाई निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिइएको थियो।
प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा आउनुभएका ठगुन्नाले शुक्रबार (आज) कार्यालयमा पुगेर हाजिर लगाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुदा प्रशासनिक र आर्थिक कामकाज प्रभावित हुँदै आएको छ । अहिले पनि ठगुन्नाको ठाउँमा प्रमुख प्रशासकिय अधिकृत नपठाइकनै मन्त्री बडूको सक्रियतामा लेकमबाट अधिकृत सरुवा गर्ने काम भएको जानकारहरुले बताएका छन्।