सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई वर्षपछि फर्कियो सुदूर तराइमा होलीको रौनक

२०७८ चैत्र ४, १०:२७ विन्दु चन्द

धनगढी : आज नेपालको तराई भेगमा फागु पूर्णिमा अर्थात् होली पर्व मनाइँदैछ। कोरोना भाइरसका कारण दुई वर्षदेखि विभिन्न प्रतिबन्धबीच मनाइएको होली यसपालि धुमधामका साथ मनाइँदैछ। होलीको रौनक सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा पनि देखिएको छ। 

चोकचोकमा होली विशेष कार्यक्रमको आयोजना गरिएको छ भने बजार क्षेत्रमा होली खेल्नेहरूको भीड छ। दुई वर्ष कोरोना भाइरसको संक्रमणका कारण उल्लासका साथ होली पर्व मनाउन नपाइए पनि यसवर्ष होलीको रौनकता बढेको धनगढीका हरेन्द्र चौधरीले बताए। उनले भने, ‘यसवर्ष एकदमै रमाइलो भइरहेको छ। गत वर्षभन्दा खुल्ला रुपमा होली खेल्न पाइरहेका छौं। एकदम रमाइलो छ।’

कोरोना माहामारीको संक्रमणका कारण गत २ वर्ष होलीको रौनक थिएन। खुला ठाउँमा होली मनाइएको थिएन। तर यो वर्ष धेरै ठाउँमा होलीका कार्यक्रमसमेत आयोजना गरिएका छन्। कोरोनाका कारण गत वर्ष घरभित्रै सिमित रहेकोमा यसवर्ष भने खुला रुपमा घुम्न पाएको र साथीहरुसंग होली खेल्न पाएको धनगढीकी हेमा पाण्डेले बताइन्। उनले भनिन्, ‘गत वर्ष त मास्क लगाएर अनुहारै देखाउन मिलेन। कोरोनाले गर्दा यसवर्ष होली मनाउन पाएका छौँ।’

होलीमा खुल्ला रुपमा घुमघाम, परिवार, आफन्त र साथीभाइहरुसंग रमाइलो भइरहेको धनगढीकी शोभा मल्ले बताइन्। सुदूरपश्चिमको पहाडी जिल्लामा परम्परागत होली खेलिन्छ। तर पछिल्ला वर्षहरुमा होलीमा परम्परा हराएको गुनासो गरिएको छ।

परिवार, आफन्त, साथीभाई लहरै मिलेर देउसी–भैलो जस्तै होली खेल्ने चलन हराउदै गएको हो। पहिलेको भन्दा अहिलेको पुस्ताले फरक तरिकाले होली मनाउने गरेको धनगढीका वीरबहादुर महराले बताए। उनले भने, ‘पहाडमा त एकदमै रमाइलो हुन्छ। परिवार आफन्तसंग देउसी भैलो खेले जस्तै होली खेलीन्थ्यो।’

होली पर्वलाई मर्यादित बनाउन नेपाल  प्रहरीले आग्रह गरेको छ। प्रहरीले होलीमा हुने अपराध नियन्त्रण गर्ने दाबी समेत गरेको छ। होलीमा हुने विभिन्न अपराधिक क्रियाकलाप तथा घट्न सक्ने घटनाहरुलाई मध्यनजर गर्दै सुरक्ष व्यवस्था कडा परिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकास जोशीले बताए।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस