सुदूरपश्चिम खप्तड गोल्डकपः मनाङ र फेन्ड्सको उपाधि जित्ने दाबी
धनगढी: सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल शनिबार धनगढीमा हुँदैछ। पाँचौ संस्करणको उपाधिका लागि भोलि पूर्व च्याम्पीयन मनाङ मस्र्याङदी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ। जसका दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन्।
मनाङ गोल्डकपमा पाचौं संस्करणसम्म सहभागी रहेको छ। पहिलो संस्करणको च्याम्पीयन मनाङ दोस्रो पटक उपाधि जित्ने दाउमा रहेको छ। फेन्ड्स भने पहिलो पटक गोल्डकपमा सहभागी भएको हो। पहिलो सहभागीतामा उपाधि जित्ने धुनमा फेन्ड्स रहेको छ।
मनाङका कप्तान अञ्जन विष्टले फाइनलमा आफुलाई कुनै दबाव नभएको र नकआउट प्रतियोगितामा जस्तो विपक्षी भएपनि जितका लागि खेल्ने बताए। साथै उनले प्रतियोगिता अगाडी धनगढी रंगशाला पुग्दा मैदानको अवस्था देखेर आफुलाई केहि चिन्ता लागेपनि जुन तरिकाले ग्राउण्ड स्टाफले मैदानलाई ब्यवस्थापन गरे, उनीहरुलाई धन्यवाद दिए। साथै अञ्जनले हरेक खेलमा जितका लागि मैदानमा उत्रिएको र फाइनलमा पनि आफुहरु दबाब बिना खेल्ने बताए। ‘नकआउट प्रतियोगिताको सबै खेल फाईनल सरह नै हो। हामीलाई दर्शकको पनि साथ छ। हामी फाईनल जित्छौ।’ कप्तान अन्जनले भने, ‘लिग र नकआउट फरक हो। एक पटक हारेमा टुर्नामेन्ट नै सकिन्छ। त्यही भएर फाईनल जित्ने गरी उत्कृष्ट फुटबल खेल्छौ।’
मनाङका प्रशिक्षक राजेन्द्र तामाङले खप्तड गोल्डकपको उपाधि जितेको खण्डमा आफुहरुलाई लिगमा भोगेको नजितामा केहि हदसम्म मलम लागउने मौका हुने बताए। साथै उनले खेलाडीलाई केहिदिन आराम मिलेकाले पनि फाइनलमा अझ राम्रो प्रदर्शन गर्ने बताए। ‘अब फाइनल पुगेका छौं। माहोल हाम्रो पक्षमा रहेको छ। हामी जित्छौ। दर्शकहरुको पनि साथ पाएका छौं’ प्रशिक्षक तामाङले भने, ‘टीममा केही फरक र उतार चढाव परेको छ। खेलाडीहरुको कम्बिनेसन राम्रो भएको छ। खेलाडीहरुले आराम पनि पाएका छन्। यसले हामीलाई फाईदा पनि हुन्छ।’
फ्रेन्ड्सका प्रशिक्षक मिग्रेन्द्र मिश्रले कम्तीमा ७२ घण्टाको आराम पाएको खण्डमा खेलाडीले बढी आराम पाउने भएपनि आफुहरु फाइनलका लागि तयार रहेको बताए। उनले मनाङ बलियो टिम रहेको र अहिले फ्रेन्ड्स टिम पनि राम्रो रहेको बताए। तर फाइनलमा आफुहरु जितका लागि नै खेल्ने बताए। ‘फाइनलमा जसले गोल गर्छ त्यही टीमले जित्छ। फुटबलको रिजल्ट के हुन्छ भन्ने कुरा खेलेपछि थाहा हुन्छ’ प्रशिक्षक मिश्रले भने, ‘हामी पनि विनिंगको लागि खेल्छौ। दर्शकहरुले हौसला दिएमा थप राम्रो खेल्छौ। खेलाडीहरु पनि थपेका छौं। फाईनलको अब्बल खेल हुन्छ।’
ए डिभिजन लिगमा मनाङ र फ्रेन्ड्स भिड्दा मनाङ विजयी भएको थियो। खप्तड गोल्डकपमा फ्रेन्ड्सले सेमिफाइनलमा बागमती युथ क्लवलाई हराएको थियो भने मनाङले हिमालयन शेर्पालाई हराएको थियो। समापन समारोहका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले रहेका छन्।
आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ।