सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पक्राउ पर्दैनन् अभियुक्त, रोकिएन हत्या श्रृंखला

२०७८ फाल्गुन २७, ०७:१० नारायण अवस्थी

धनगढी : कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अर्जुन दासको हत्या भएको ३ महिना पुग्नै लागेको छ। तर प्रहरीले हत्यामा आरोपित भनिएका व्यक्तिको पहिचान गर्न सके पनि पक्राउ गर्न भने सकेको छैन। हत्या गरेर भारत फरार भएको भनिएका आरोपितले भने सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो पोष्ट गरेर गाउँमा रहेका अन्य व्यक्तिलाई ज्यान लिने धम्की दिन थालेका छन्।

भारतमा रहेर फेरि हत्या गर्ने धम्की दिने व्यक्ति पक्राउ नपर्दा हत्याको सूचना दिने व्यक्ति र दासको परिवारले असुरक्षित महसुस गरेको मृतक अर्जुन दासकी पत्नी धर्मा दासले दिनेशखबरलाई बताइन्। 'हत्या भएको ३ महिना पूरा हुन थालेको छ। प्रहरीले खोजी कार्य जारी छ पनि भन्छ हामीलाई खबर गर्नु पनि भन्छ,' उनले भनिन्, 'हत्यारा पक्राउ नपर्दा निकै निरास भएका छौँ।'

गत कार्तिक २३ गते लम्कीका भूपेन्द्र बडुवालको टीकापुरमा धारिलो हतियार प्रयोग गरी हत्या गरियो। बडुवालको हत्यामा संलग्न भएका एक दर्जन आरोपित पक्राउ परे पनि मुख्य आरोपित सहितका ९ जना अझै फरार रहेका छन्। राज्यको दायित्व सबै नागरिकको रक्षा गर्ने र अन्यायमा परेको अवस्थामा न्याय दिने भए पनि कैलालीमा घटेका हत्या घटनाका मुख्य आरोपितले उन्मुक्ति पाउनु कानूनी राज्यकै उपहास भएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले दिनेशखबरलाई बताए।

'नेपाल प्रहरीले इन्टरपोलमार्फत भारतमा लुकेर बसेका हत्याका आरोपी पक्राउ गरेर पीडित परिवारलाई न्याय दिनु पर्छ,' उनले भने, 'हत्या जस्तो अपराधमा संलग्न अभियुक्तले उन्मुक्ति पाउनु राज्यको लाचारीपन हो। राज्य नै लाचार हुनु राम्रो कुरा होइन।'

लम्कीका बडुवाल र जानकी गाउँपालिकाका अर्जुनको हत्याका आरोपित पक्राउ गर्न नसकेको भनेर आलोचना खेपेको प्रहरी प्रदेश राजधानी धनगढीमै भारतीय नागरिकको हत्या भएपछि थप आलोचित भएको छ। धनगढीमा हत्या गरेर फालिएको अवस्थामा फेला परेका कुलदिप गुप्ताको घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी असफल छ। प्रहरीले भने आरोपितलाई समात्ने प्रयास भइरहेको बताएको छ।

आफ्ना संयन्त्र परिचालन गरेर सबै आरोपितलाई पक्राउ गर्न निरन्तर प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले दिनेशखबरलाई बताए। 'हामीले बडुवाल र अर्जुन दासको हत्याका आरोपितको पहिचान गरिसकेका छौँ,' उनले भने, 'सबै संयन्त्र परिचालन गरेर आरोपितलाई पक्राउ गर्ने प्रयास जारी छ।'

अर्जुन दासको हत्या गरेको घटनामा संलग्न भएको पुष्टि भएका व्यक्तिहरूले धम्की दिएको भिडियो हत्या लगत्तै प्रहरीले प्राप्त गरेको थियो। भारतको कुन ठाउँबाट आरोपितहरूले धम्की दिएका हुन र अहिले ती कहाँ छन् भन्ने तथ्य प्रहरीले फेला पारे पनि पक्राउ भने परेका छैनन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस