सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मन्त्री भन्दा स्वकीय सचिवालयका कर्मचारी महंगा

२०७५ माघ ११, १०:४३ जनक विष्ट

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरु भन्दा उनीहरुको स्वकीय सचिवालयका कर्मचारीहरु महंगा देखिएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री र मन्त्रीहरुका स्वकीय सचिवालयका कर्मचारीहरुलाई कानुन विपरीत दैनिक भ्रमण भत्ता र हवाई भाडा वापतको रकम दिएपनि तीनै कर्मचारी मन्त्री भन्दा महंगा भएका हुन्।

कानुनमा मुख्यमन्त्री र मन्त्रीका निजी सचिवालयका कर्मचारीलाई दैनिक भ्रमण र हवाई भाडा दिने व्यवस्था नभएपनि प्रदेश सरकारले भने स्वकीय सचिव लगायतका कर्मचारीलाई सो शिर्षकमा रकम दिइरहेको हो। प्रदेशका ६ जना मन्त्रीले पुष महिनामा भ्रमण भत्ता र हवाई भाडा वापत एक लाख ७१ हजार लिदा स्वकीय सचिवालयका कर्मचारी, सुरक्षा गार्ड र सहयोगीले झण्डै साढे ३ लाख बुझेको पाईएको छ।

प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र उनीहरुका स्वकीय सचिवालयका कर्मचारी, सहयोगी र सुरक्षा गार्डले दैनिक भ्रमण भत्ता र हवाई भाडामा पुष महिनामा मात्र झण्डै पाँच लाख खर्च गरेका छन्। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले उपलब्ध गराएको विवरण अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह बाहेक मुख्यमन्त्री सहित अन्य पाँच जना मन्त्री र उनीहरुको स्वकीय सचिवालयका कर्मचारीको दैनिक भ्रमण भत्ता र हवाई भाडा वापत पुषमा ४ लाख ९१ हजार खर्च भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले दैनिक भ्रमण भत्ता वापत १८ हजार सात सय ५०  र हवाई भाडा वापत २६ हजार दुई सय गरी ४४ हजार लिदा मुख्यमन्त्रीका स्वकीय सचिव शिब सिंह ओलीले दैनिक भ्रमण भत्ता १२ हजार र हवाई भाडा २६ हजार दुई सय गरी ३८ हजार दुई सय लिएका छन्। 

अर्थ मन्त्री झपट बोहोराले सोही शिर्षकमा ३३ हजार दुई ५० बुझ्दा उनका स्वकीय सचिव आर्दश साउँद १८ हजार चार सय, भौतिक पूर्वाधार विकास मन्त्री पठान सिह बोहोराले २३ हजार ६ सय ५० बुझ्दा उनका स्वकीय सचिव केशवराज अवस्थीले २६ हजार ८ सय, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले दैनिक भ्रमण भत्ता र हवाई भाडा वापत १५ हजार ६ सय लिदा, स्वकीय सचिव शेर वहादुर विष्टले १० हजार, पर्यटन मन्त्री माया भट्टले ४८ हजार लिदा स्वकीय सचिव शेर बहादुर चन्दले १५ हजार ६ सय तथा कृषि मन्त्री वीनिता चौधरीले दैनिक भ्रमण भत्ता वापत ६ हजार २ सय ५० लिदा उनका स्वकीय सचिव दीर्घराज विनाडीले ४ हजार बुझेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ।

त्यस्तै मुख्यमन्त्री सहितका ६ जना मन्त्रीका स्वकीय सचिवालयका अन्य कर्मचारी, सहयोगी र सुरक्षाकर्मी समेत गरेर  दैनिक भ्रमण भत्ता र हवाई भाडा वापत ३ लाख १९ हजार लिएका छन्। कानुनमा अधिकृत स्तर भन्दा माथीका कर्मचारीलाई मात्र दैनिक भ्रमण भत्ता र इन्धन सुविधा छ तर प्रदेश सरकारले भने मन्त्रीका स्वकीय सचिवालयलाई सबै कर्मचारीलाई दैनिक भ्रमण भत्ता दिइरहेको छ।

मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सूचना अधिकारी हरिदत्त भट्टले सुरक्षाकर्मीले दैनिक भ्रमण भत्ता पाउने भएपनि स्वकीय सचिवालयका कर्मचारीलाई व्यवस्था नगरिएको बताए। मुख्यमन्त्रीका स्वकीय सचिवको नियुक्ती उप सचिव स्तरको भएपनि अन्य मन्त्रीका स्वकीय सचिवले भने कानुन अनुसार दैनिक भ्रमण भत्ता नपाउने अधिकारीहरुले बताएका छन्।

तर प्रदेश सरकारले भने अधिकृत स्तरका स्वकीय सचिव, नायब सुब्बा स्तरका स्वकीय सचिवालयका कर्मचारी, सहयोगी, सुरक्षा गार्ड र सुरक्षाकर्मीलाई पनि दैनिक भ्रमण भत्ता दिइरहेको हो। मुख्यमन्त्री सहितका ६ जना मन्त्री र उनीहरुका स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीले पुषमा दैनिक भ्रमण भत्ता वापत ३ लाख ९५ हजार र हवाई सुविधा वापत  एक लाख ८२ हजार लिएका छन्।

कानुनमा मन्त्रीका स्वकीय सचिव र स्वकीय सचिवालयका कर्मचारीलाई दैनिक भ्रमण भत्ता दिन नमिल्ने भएपनि सरकारी कामको सिलसिलामा गएको खण्डमा दिदा खासै फरक नपर्ने मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका कानुन सचिव यज्ञप्रसाद भट्टराईले बताए। यसअघि लिखित रुपमा सूचना माग गर्दा पनि आनाकानी गरेको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले दिनेश एफएमले राष्ट्रिय सूचना आयोगमा उजुरी हालेपछि जिल्ला हुलाक कार्यालय कैलाली मार्फत सूचना उपलब्ध गराएको हो।
 

 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस