कञ्चनपुरको पुनर्वासमा मुक्त हलियाका लागि बनाएका घर प्रयोगविहीन
कञ्चनपुर : पुनर्वास मुक्त हलिया सुरक्षित आवास कार्यक्रम अन्तर्गत विसं २०७७ सालमा निर्माण सम्पन्न गरी हस्तान्तरण गरेका मुक्त हलिया बस्तीका घर प्रयोगविहीन बनेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका-९, 'ख' गाउँमा अवस्थित उक्त हलिया बस्तीमा निर्माण भएका ४२ घरमध्ये ३० घर प्रयोगविहीन बनेका हुन्।
बेरोजगारी, कमाएर खाने जग्गा जमिन टाढा हुनुजस्ता कारणले ३० घरपरिवारले निर्माण भएका घरहरूमा बस्नै छाडेको चन्द्र सुनारको भनाई छ। उनले आफ्नो जग्गा नभएका कारण दैनिक मजदुरी गर्दै पाँच जनाको परिवारसंगै सो भवनमा बस्दै आएको बताए।
सरकारले आवास मात्रै हैन हाम्रा समस्या हेरी रोजगारी तथा कुनै सिपमुलक कार्यक्रमको व्यवस्था गरिदिए आफुहरुलाई गुजारा गर्न सहज हुने सोही बस्तीमा बस्दै आएका एक जना अपांग व्यक्ति चन्द्र बिकले बताए। आफू र श्रीमती दुबै अपांग छौ, दुई बच्चा छन्, न रोजगारी छ, न कुनै सिप नै जानेको छु। उनले भने 'जमिन र घर भएकाहरु यस बस्तीमा बस्दैनन, आफ्नो केही नहुदा यसै घरमा बसेर ठूलो आभास मिलेको छ।'
सरकारले हलिया मुक्त समाज निर्माण गरेको बस्तीमा नगर र वडा कार्यालयले सडक, विधुत, खानेपानी र शौचालयको व्यवस्था गरेको वडाध्यक्ष नारायण जैशीले बताए। 'स्थायी विद्युत मिटर नगरपालिकाले प्रत्येक घरमा निशुल्क जडान गर्न विधुत कार्यालयमा माग गरेको छ।' वडाध्यक्ष जैशीले भने 'बस्तीमा मान्छे बस्दै गए समस्या हेरी अन्य सुविधाका कुरा पनि थपिन्थे।'
संघीय कृषि, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको १ करोड ७६ लाख ४७ हजार ५ सय, हेविटाट फर ह्युमानिटी नेपालको ६२ लाख ८७ हजार, पुनर्वास नगरपालिकाको ३ लाख ३५ हजार, घरधुरी योगदान १३ लाख १७ हजार ४ सय बिस रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको थियो।
करोडौं रुपैयाँ लगानीमा निर्माण भएका यी आवासका ढोकामा अहिले ताला लागेको देख्दा सरकारको उद्देश्य पूरा हुन नसकेको र प्रयोग विहिनले बस्तीको शोभा नै गुमेको प्रष्ट देखिन्छ। भवन प्रयोगविहीन किन भए, उनीहरुलाई स्थायी बसाल्न के गर्नुपर्छ, भन्ने विषयमा सम्बन्धित पक्षले एकपटक अध्ययन गरी समाधान गर्न जरुरी छ।