हुलाकी सडक कञ्चनपुरको अवधि सकियो, काम अधुरै
धनगढीः हुलाकी सडक कञ्चनपुर खण्डको निर्माणमा ढिलाई भएको छ। ६२ किलोमिटर सडक निर्माणका लागि २०७३ फागुनमा सम्झौता भएमा पाँच वर्षसम्म काम अधुरै रहेको हो। तीन प्याकेजमा ६२ किलोमिटर सडक निर्माणको सम्झौता भएको थियो। पाँच वर्षमा सडकको भौतिक प्रगति ७५ प्रतिशत मात्र छ।
तीन ठेक्कामा एउटा खण्डको माघमा समय सकिएको छ। माघमा अवधि सकिएको उक्त खण्डको भौतिक प्रगति सबै भन्दा कम छ। उक्त क्षेत्रको भौतिक प्रगति ७० प्रतिशत मात्र रहेको योजना कार्यालयले बताएको छ। अन्य दुई खण्डको चैतसम्म सडक निर्माणको समय छ।
तर चैतसम्म पनि तीनै खण्डको सडक निर्माणको काम पूरा नहुने निश्चित भएको छ। ‘एक खण्डको माघसम्म समय थियो,’ हुलाकी सडक योजना कार्यालय धनगढीका सूचना अधिकारी पदमबहादुर मडैले भने, ‘पहिलो र तेस्रो खण्डको चैतसम्म समय छ। तर काम सकिदैन होला। बैशाखमा कालोपत्रेका लागि तयारी हुँदैछ।’ राष्ट्रय गौरवको सडक आयोजनामा निर्माण कम्पनीले बेवास्ता गर्दै आएका हुन्।
निर्माण कम्पनीले सडक निर्माणको काममा लापरबाही गर्दा स्थानीयलाई भने सास्ती भएको छ। उनीहरुले बर्सातमा हिलो र चिसोको समयमा धुलोका कारण हैरान हुँदै आएको स्थानीय ज्ञानमायाले बताइन्। ‘बर्षातमा हिलो हुन्थ्यो। अहिले धुलोले हैरान बनाएको छ,’ उनले भनिन्।
एक अर्ब १६ करोड लागतको उक्त ६२ किलोमिटर सडक सात मिटर कालोपत्रे हुने छ। सडकको क्षेत्राधिकार भने १२ मिटरको छ। १२ मिटरभित्र रहेका निजी संरचनाहरु हटाइएको भए पनि निर्माण कम्पनीले कामलाई तिव्रता नदिएको हो। निर्माण व्यवसायी चक्र शाहीले कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रमा १२ सय मिटर क्षेत्रको सडक निर्माणमा भारतीय सीमा सुरक्षा बल एसएसबीको अवरोध अझै कायम रहेको बताए। ‘हामी कालोपत्रेको तयारीमा छौं,’ उनले भने, ‘१२ सय मिटरको काम बन्द छ। अन्य क्षेत्रमा हामी कालोपत्रे गर्न खोजेका हांै। तापक्रम पनि बढेको छ। चैतसम्म समय छ।’