देशभर सयभन्दा कम सङ्क्रमित
काठमाडौँ: पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण एक सयभन्दा कम पुष्टि भएको छ। देशभर पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय छ हजार २२० को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७७ हजार ४४७ पुगेको छ।
एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार हजार ५४९ रहेको छ। पछिल्लो समय थप ३६२ जना निको भएका छन्। यससँगै निको हुनेको सङ्ख्या नौ लाख ५८ हजार ५५५ पुगेको छ। निको हुने दर ९८ दशमलव एक प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४५ पुगेको छ भने पछिल्लो २४ घण्टामा यस रोगबाट हुने मृत्युदर शून्य रहेको मन्त्रालयले जनाएको छ। त्यसैगरी पछिल्लो समय दुई लाख ८६१ जनाले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ९४७ रहेको छ।