सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्पतालको प्रसूतिकक्षमा भालु पसेपछि...

फाइल तस्बिर
फाइल तस्बिर
२०७८ फाल्गुन २०, ०३:०१ रासस

धनगढीः ताप्लेजुङ जिल्ला अस्पतालको उपचारकक्षभित्रै भालु पसेको छ। गएराति अस्पतालको प्रसूतिकक्षमा भालु पसेको अस्पतालले जनाएको छ। राति साढे ११ बजेको समयमा उपचार कक्षमा भालु देखिएको थियो।

बिरामी नभएको उपचारकक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको र अहिले सोही कोठामै नियन्त्रणमा रहेको अस्पतालका चिकित्सक सोनिङ लामाले जानकारी दिए। उनका अनुसार अस्पतालको पछाडिको भागबाट ओहोरदोहोर गर्ने छोटो बाटोबाट राति अचानक भालु पसेको हो। सुरक्षित अवस्थामा रहेको भालुलाई उद्धार गर्ने तयारी भइरहेको छ। उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय भइरहेको जनाइएको छ। उद्धारका लागि आवश्यक प्राविधिक समूह र बेहोस बनाउने औषधि जथाभावी नपाइने भएकाले कोषसँग समन्वय गरिरहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का वार्डेन रमेश यादवले जानकारी दिए।

संरक्षण क्षेत्रको कार्यक्षेत्रभित्र नपर्ने भए पनि डिभिजन वन कार्यालयसँगै रहेर उद्धारका लागि विभिन्न क्षेत्रसँग समन्वय गर्ने कार्यमा सघाइरहेको यादवको भनाइ छ। चिसोका कारण माथिल्लो क्षेत्रबाट न्यानो खोज्दै तल्लो क्षेत्र झर्ने क्रममा सदरमुकामसम्म भालु आइपुगेको अनुमान गरिएको छ।

कमेन्ट लोड गर्नुस