विप्लव र भीम रावलबीच भेटवार्ता
धनगढीः नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा एमालेका नेता भीम रावलसँग भेट गरेका छन्। पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित टोखा पुगेर उनले रावलसँग भेट गरेका हुन्। विप्लव नेतृत्वको नेकपाले अमेरिकी सहयोग परियोजना एमसीसी ‘राष्ट्रघाती’ भएको निष्कर्षसहित विरोध गरिरहेको छ। संसदबाट एमसीसी अनुमोदन भएसँगै पार्टीका महासचिव विप्लवले एमसीसीको विपक्षमा रहेका नेताहरुसँगको भेटघाटलाई तीब्रता दिएका छन्।
भेटघाटका क्रममा एमसीसी अनुमोदनपछि विकसित राजनीतिक परिस्थितिबारे छलफल भएको प्रकाण्डले बताएका छन्। एमाले नेता रावलले पनि ट्वीट गर्दै विप्लव र प्रकाण्डले ‘राष्ट्रिय स्वाधीनताका लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन’ जोड दिएको बताएका छन्। ‘देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो।’ रावलले भनेका छन्।