सुदूर नेपाललाई विश्वसँग जोड्दै

युक्रेनबाट नेपाली नागरिकको उद्धार गरिदिन सरकारले गर्‍यो भारतसँग आग्रह

२०७८ फाल्गुन १९, ०१:४२ खबर संवाददाता

काठमाडौँः नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई भारतीय नागरिकसँगै नेपालीलाई पनि उद्धार गरिदिन अनुरोध गरेको हो। ‘नेपाल फर्किन चाहने नेपालीलाई भारतीयसँगै जहाजमा ल्याइदिन आग्रह गरिएको छ। भारतले त्यसमा सकारात्मक जवाफ दिएको छ’, दूतावासका एक अधिकारीले भने।  

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपाल र बंगलादेश लगायत छिमेकी मुलुकका युक्रेनमा अलपत्र परेका नागरिकको उद्धार गर्न भारत तयार रहेको भारतीय सञ्चारमाध्यमसमक्ष बताएका छन्। कोरोना महामारी र अफगानिस्तान संकटका बेला आफ्ना नागरिक उद्धार गर्दा भारत सरकारले नेपाली नागरिकको पनि उद्धार गरेको उनले बताए। परराष्ट्र मन्त्रालयका अनुसार करिब ३ सय नेपाली युक्रेनमा अलपत्र छन्। जर्मनीस्थित नेपाली दूतावासले युक्रेनमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिइरहेको छ। 

दूतावासले परराष्ट्र मन्त्रालयलाई हालै लेखेको पत्रमा युक्रेन संकटग्रस्त अवस्थामा रहे पनि केही नेपाली भने स्वदेश फर्किन चाहेका छैनन्। लाखौँ खर्चेर रोजगारी र अध्ययनका लागि युक्रेन गएकाले तत्काल स्वदेश फर्किन नचाहेको उनीहरुले बताइरहेका छन्। बरु ती नेपाली युक्रेन छोडेर अन्य युरोपेली मुलुकतिर छिर्न थालेका छन्।

कमेन्ट लोड गर्नुस