सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बढ्यो चरेस कारोबार, प्रयोगकर्ता र कारोबारी धमाधम पक्राउ

२०७८ फाल्गुन १८, ०७:४५ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः १३ पुस २०७८ मा विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले चुरे गाउँपालिकाको खानीडाँडाबाट १६ किलो चरेससहित २ जनालाई पक्राउ गर्‍यो। बझाङबाट धनगढी आइरहेको जीपको सिटमुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा २८ वर्षीय जीप चालक वीर बोहरा र ४० वर्षीय गमीलाल बोहरा पक्राउ परेका थिए। 

त्यस्तै २२ माघ २०७८ मा कैलाली प्रहरीले गौरीगंगा नगरपालिका उदासीपुरबाट साढे ४ किलो चरेससहित चमारीपुरका ५३ वर्षीय मानबहादुर धामी र ३० वर्षीय बिर्ख धामी पनि पक्राउ गर्‍यो। फागुन १२ गते १३ किलो चरेसहित प्रदेश प्रहरी र जिल्ला  प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले चुरे गाउँपालिका लिसबेलीका ७० वर्षीय आइते जाग्री पनि पक्राउ परेका थिए। यी त केवल उदाहरण मात्र हुन्। पछिल्लो केही समययता यसैगरी ठूलो परिणाममा चरेससहित कारोबारी पक्राउ पर्ने क्रम जारी छ। 

चरेस र गाँजाको स्रोत बझाङ भएकाले बर्सेनि ठूलो परिणाममा भारत निर्यात हुने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए। ‘बझाङबाट चरेस र गाजा निर्यात हुन्छ भने भारतबाट लागुऔषधि भित्रिने गरेको छ,’ उनले भने, 'चरेस र गाँजा आन्तरिक रुपमा पनि प्रयोग भइरहेकाले नियन्त्रणका लागि संलग्न कारोबारी र प्रयोगकर्तालाई निगरानीमा राख्दै आएका छौं।'

लागुऔषध ओसारपसार तथा नियन्त्रण ऐन २०३३  मा गाजा कारोबार गर्नेलाई एक महिनादेखि ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिबानाको व्यवस्था छ। गाजा सेवनकर्तालाई पनि एक महिना कैद र २ हजार जरिवाना हुने व्यवस्था छ। तर नेपालमा गाजा खेती वैधानिकताका लागि जनदबाब अभियान भने चलिरहेको छ। नेपाल प्रहरी र सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले पनि कारोबारीलाई पक्राउ गरिरहेको छ। चरेससंगै प्रहरीले तयारी गाजा नै बरामद गरेर मुद्दा चलाइरहेको छ। 

चरेस र गाजा कारोबारी र प्रयोगकर्ता शुन्यमा झार्न प्रहरीलाई चुनौति भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताए। ‘प्रहरीको एक्लो प्रयासबाट मात्र नियन्त्रण गर्न संभव नभएकाले यसका लागि विशेष प्रकारको योजना ल्याउने तयारी भइरहेको छ,’ उनले भने। चरेस र गाँजा कारोबारी र प्रयोगकर्ता दैनिक रुपमा प्रहरीले पक्राउ गर्दै आए पनि नियन्त्रण गर्न पनि अझै चुनौति रहेको उनको भनाई छ।

आर्थिक वर्ष २०७७/७८ मा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानबाट गरी ५ किलो गाजा बरामद भएको प्रहरीको तथ्यांक छ। चरेससहित गाजा प्रयोगकर्ता बढ्दै गएको अवस्थामा सोहीअनुसार प्रहरीको सक्रियता र निगरानी पनि बढेपछि कारोबारी र सेवनकर्ता धमाधम प्रक्राउ पर्न थालेको प्रहरीको दाबी छ। तर कारोबार भने घट्न सकेको छैन। औषधीय प्रयोजन लागि गाजा खेती गर्न पाइने गरी कार्यविधि ल्याउने तयारीमा गृह मन्त्रालय जुटेको छ।

कमेन्ट लोड गर्नुस