सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा 'मिटर ब्याज'को आत्मघाती सञ्जालमा फसे किसान, गुहार माग्दै प्रशासनमा

२०७८ फाल्गुन १७, ०७:४७ नारायण अवस्थी

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ की सरस्वती भट्ट अधिकारीको अहिले दिनमा भोक र रातमा निद्रा हराएको छ। आफ्नै फुपू रितादेवी पौडेलका कारण उनको भोक र निद्रा मात्रै हराएको छैन, एक कट्ठा जग्गा र त्यसमा बनेको घर बैंकले लिलाम गर्ने सूचना निकालेको छ। 

त्यति मात्रै होइन काठमाण्डौ उच्च अदालतमा तिनै फुपूले चेक अनादरको मुद्दा हालेको कारण तारेख बोक्नु परेको सरस्वतीको गुनासो छ। मिटर व्याजको कारोबारी फुपूले आफ्नो छोरोलाई अमेरिका पठाउने भन्दै ५ वर्ष अगाडि घर जग्गा धितो राखेर १९ लाख झिक्न लगाएको र तीन वटा हस्ताक्षर मात्रै गरेका चेक मागेर लग्दा त्यहीँ सहयोग र विश्वास पासो बनेको अधिकारीले दिनेशखबरसँग बताइन्।

'मैले आफ्नै फुपूलाई विश्वास गरेर भएको घरजग्गा बैंकमा राखेर पैसा निकालेर सहयोग गरे तर उनले बैंकको किस्ता नतिर्दा मेरो घर लिलामीमा चढेको छ,' उनले भनिन्, 'बैंकले दिएको पैसा झिक्न हस्ताक्षर मात्रै गरेका तीन वटा चेक मागेर लगेकी थिइन्। ती चेकमा आफैंले रकम उल्लेख गरेर मलाई बैंकिङ कसुरमा मुद्दा चलाएकी छन्।'

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १२ का फूलमती चौधरी आफ्नो २६ कट्ठा जग्गा गुमेको अहिले थाँहा भएको बताउँछिन्। चौधरीले ३ लाख ५० हजारमा आफ्नो जग्गा धनगढीका यस्मी रानाले २०७२ कात्तिकमा ५ वर्षका लागि पास बन्धकी लिएको र अहिले बैंकको लिलामीमा चढेको छ।

जग्गा धनी चौधरीले रानालाई ४ लाख ५० हजार बुझाए पनि जग्गा सधैंका लागि गुमाएका छन्। रानाले जग्गा २०७२ मै २९ लाखमा तेस्रो व्यक्तिलाई बिक्री गरेको चौधरीले अहिले थाँहा पाएको बताएकी छन्। 'यस्मी रानालाई मेरै गाउँका मान्छेले चिनाएका थिए,' उनले भनिन्, 'अहिले जग्गा फिर्ता गर्नु त कहाँ बैंकमा लिलामी चढेको थाँहा पाउँदा मन भाच्चिएको छ। हामीलाई झुक्याएर जग्गाबिहीन बनाइयो।' 

घोडाघोडीकै नकफोडुवाका हरिप्रसाद चौधरीले सुख्खडका रमेश घिमिरेसँग २० लाख लिएर ३८ कट्ठा जग्गा दृष्टि बन्धकी राखे। घिमेरेसँग बैंकिङ व्याजमा २० लाख लिएर ५ वर्षमा फिर्ता गर्ने कागज गरेका रमेशले चौधरीको जग्गा अरुलाई नै बिक्री गरेका रहेछन्। सुर्खेतको एनआसिसी बैंकमा लिलामीमा चढेपछि आफ्नो जग्गा २०७२ मै घिमिरेले ४८ लाखमा तेस्रो व्यक्तिलाई बिक्री गरेको थाँहा पाएको पीडित हरिप्रसादले दिनेशखबरलाई बताए। 'स्थानीय कृष्णकुमार र कृष्णबहादुर चौधरीले भनेर म रमेश घिमेरेकोमा गएको थिए,' उनले भने, '२० लाख लिएर ५ वर्षमा जग्गा फिर्ता हुन्छ भनेर म ढुक्क भए तर जग्गा भने रमेशले पहिल्यै बिक्री गरेका रहेछन्।' 

जग्गा गुमेपछि घर न घाटको भएको चौधरीले बताएका छन्। घोडाघोडीको सुख्खडका योगेन्द्र ऐरले नै २०७३ मा २ विघा ४ कट्ठा जग्गा बन्धकी राख्न लगाएर नकफोडुवाका पर्शुराम चौधरीलाई २० लाख ऋण दिए। पेट्रोल पम्पसमेत धितो राख्न लगाएर ऐरले आफूलाई डुबाएको चौधरीको दाबी छ। २०७३ देखि २० लाखको व्याज ९७ लाख भुक्तानी दिएको भए पनि आफ्नो जग्गा ऐरले  फिर्ता नगरेको बताए। '२० लाख ऋण लिएको थिए,' उनले भने, 'साँवा व्याज गरेर ९७ लाख बुझाइसके तर ऐरले १ करोड ३७ लाखको हिसाव देखाउने गरेका छन्। ऐरले भएको पेट्रोल पम्प पनि बिक्री गर्नु पर्यो।'

आफ्नो १ विघा जग्गा २० लाखमा बन्धकी राखेका नकफोडुवाका राजाराम चौधरीले सुख्खडकै योगेन्द्र ऐरले आफ्नो जग्गा अर्कैलाई बचेको बताएका छन्। प्रति कट्ठा ७ लाख पर्ने जग्गा २० लाख दिएर बाँकी पैसा ऐरले नै खाएको चौधरीको आरोप छ। नकफोडुवाका कृष्णबहादुर चौधरीको ३ विघा जग्गा सुख्खडका चन्द्रप्रकाश जैसी चौलागाईले बिक्री गरेका छन्। २८ लाख लिएर बन्धकी राखेको जग्गा फिर्ता माग्न जाँदा चौलागाईले बिक्री गरेको थाँहा पाएको चौधरीले बताएका छन्। 

२८ लाखमध्ये २१ लाख फिर्ता गरेका चौधरी भएको पूरै जग्गा गुम्दा पीडामा छन्। मिटर व्याँजको पासोमा परेका यी केवल प्रतिनिधि पात्र मात्रै हुन्। घोडाघोडी नगरपालिकाको नकफोडुवा गाउँलगायत खोपा, वनवर्षा, कोटा र शिवपुरमा दर्जनौं किसानको मिटर व्याजका कारण जग्गा जमीन गुम्न लागेको कृष्णबहादुर चौधरीले बताए।

सोझा किसानालाई बैंकिङ कारोबार गर्न झंझटिलो हुने भन्दै दलाल र मिटर व्याजको धन्दा चलाउनेहरूले फसाउने गरेको बताइएको छ। मिटर व्याजी र दलालको प्रभावमा बैंक र मालपोत कार्यालयले एक छिनमै  जग्गा धितो र राजिनामा पास गर्ने गरेको पीडित किसानले बताएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस