जब बलात्कारको पोल खुल्ने डरले बालिकाको हत्या गरियो...
विराटनगरः बलात्कारको पोल खुल्ने डरले एक बालीकाको हत्या भएको छ। मोरङको लेटाङ नगरपालिका–८ कि १२ वर्षकी बालिका बलात्कारपछि हत्या आरोपमा प्रहरीले ६४ वर्षीय दीपक गिरीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
गिरीले गत बुधबार जंगलमा बालिकाको बलात्कारपछि हत्या गरी शव ढुङ्गाले छोपेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए। शुक्रबार पक्राउ परेका गिरीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ।
बुधबार विद्यालयबाट एक्लै फर्किने क्रममा बालिकाको बलात्कारपछि हत्या भएको थियो। स्कुलबाट बालिकाको घर पुग्न करिब दुई घण्टा उत्तरतर्फ हिड्नुपर्छ।
बाटोको अधिकांश भाग जंगलमा पर्छ। स्कुलबाट घर जाँदै गरेकी बालिकालाई जंगलमा एक्लै देखेपछि चिनजानकै व्यक्ति दीपक पछि लागेको प्रहरीको भनाइ छ।
गिरीले जंगलको भित्री बाटो जाँदा चाँडै घर पुगिने बताएपछि बालिका उनको पछि लागेकी थिइन्। जंगलको भित्र पुगेपछि गिरीले बालिकालाई शारीरिक सम्पर्कको प्रस्ताव राखेको र बालिकाले नमानेको प्रहरीको भनाइ छ।
हत्यापछि गिरीले बालिकाको कपडा भने घर छेउको खोल्सोमा ल्याएर जलाएका प्रहरीको भनाइ छ। गिरीको घर छेउको खरानीको थुप्रोमा फ्रकमा लगाउने खिप, टाँक, जाँते माध्यमिक विद्यालयको पेटी, जुत्ताको सोल र स्क्रिन फुटेको मोबाइल फेला परेको बताइएको छ।
बालिका जातेँ माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिइन्। बुधबार साढे ४ बजे स्कुल छुट्टी भएपछि एक्लै घर गएकी उनले बाटोमा साथी पर्खिएकी थिइन्। निजी स्कुल पढ्ने साथीहरू गइसकेका कारण उनी लालहिरा सामुदायिक वनको बाटो एक्लै हिँडेकी थिइन्।
गिरीविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले बताएको छ।