बेलौरीको महाकाली क्याम्पसलाई महालक्ष्मी बैंकद्वारा गमला सहयोग
धनगढी : कञ्चनपुरको बेलौरीमा रहेको महालक्ष्मी विकास बैंक शाखा कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत बेलौरीकै महाकाली बहुमुखी क्याम्पसलाई गमला सहयोग गरेको छ। बैंकले क्याम्पसलाई शुक्रबार १७० थान गमला सहयोग गरेको हो।
बैंकले एक कार्यक्रमको आयोजना गरी ४३ हजार ९ सय मूल्य बराबरका गमला सहयोग गरेको शाखा प्रबन्धक राम बहादुर विकले बताए। क्याम्पसको शैक्षिक गुणस्तरमा टेवा पुर्याउने र स्वच्छ, मनोरम वातावरणमा शैक्षिक गतिविधि सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले क्याम्पसलाई निःशुल्क रूपमा गमला वितरण गरिएको शाखा प्रबन्धक विकले बताए।
विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत (क्यूएए प्राप्त) भएसँगै क्याम्पसको भौतिक प्रगतिदेखि लिएर बाह्य सुन्दरता बढाउन फूल रोप्ने, फाउन्टेन राख्ने लगायतका कार्य गरिनुका साथै २० वटा कम्प्यूटरसहितको ई-लाइब्रेरी पनि सञ्चालनमा ल्याइएको क्याम्पस सञ्चालक समिति अध्यक्ष हरेन्द्रसिंह विष्टले बताए। यही मौकामा बैंकले पनि गमला वितरण गरेर सहयोग पुर्याएकोमा उनले बैंकप्रति आभार प्रकट गरे।
कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष बिष्ट, सदस्य केशवराज जोशी, क्याम्पस प्रमुख धर्मराज जोशीसहित प्राध्यापकहरू, उक्त बैंकका कर्मचारीलगायतको उपस्थिति रहेको थियो।