सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमसीसीविरुद्धको आन्दोलनमा घाइते भएका डडेल्धुराका अवस्थीलाई प्रहरीले दिए रगत

२०७८ फाल्गुन १३, ११:२६ खबर संवाददाता

धनगढी : एमसीसीविरुद्धको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका डडेल्धुराका २७ वर्षीय हेमराज अवस्थीलाई प्रहरीले रगत दिएको छ। बिहीबार काठमाडौंको बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनका क्रममा उनी गम्भीर घाइते भएका थिए।

टाउकोमा चोट लागेका उनलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएकोमा शल्यक्रियाका लागि अन्नपूर्ण न्युरो अस्पताल रेफर गरिएको थियो। गएराति अन्नपूर्णमा शल्यक्रिया गरी उनलाई भेन्टिलेटरबाट आईसीयूमा सारिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले बताए।

शल्यक्रियाका लागि अवस्थीलाई आवश्यक परेको तीन पाउन्ड ‘ओ’ नेगेटिभ रगतमध्ये एक पाउन्ड रगत प्रहरीको एक नम्बर गण नक्सालमा कार्यरत प्रहरी जवान समीनाथ यादवले दिएका बताइएको छ। अवस्थी घाइते कसरी भए भन्नेबारे भने नखुलेको जनाइएको छ। 

डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ घर भएका उनी माओवादी केन्द्रको कार्यकर्ता भएको खुलेको छ भने उनका बुवा माओवादीका वडासचिव रहेको खुलेको छ। टीकाथली बस्दै आएका अवस्थीले काठमाडौंमा कोरियन भाषा पढाउँथे।


 

कमेन्ट लोड गर्नुस