सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेवा समूहलाई समायोजन गर्न परिपत्र

। फोटो स्रोत ।
२०७५ माघ ७, ०१:४४

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घमा मात्र सङ्गठन संरचना रहेका सेवा समूह भएका कार्यालयलाई सात दिनभित्र समायोजन गरिसक्न परिपत्र गरेको छ। मन्त्रालयका उपसचिव अनिता निरौलाले सङ्घमा मात्र सेवा समूह रहेका कार्यालयलाई सात दिनभित्र समायोजन गराइसक्न सम्बन्धित कार्यालयलाई पत्र पठाइएको बताए।
करीब पाँच हजार कर्मचारी सङ्घअन्तर्गतका कार्यालय रहेका छन्। यसअघि मन्त्रालयको समायोजन शाखाले विशिष्ट श्रेणीका कर्मचारीको समायोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्र पठाएको छ। विशिष्ट श्रेणीका कर्मचारीको समायोजनको काम मन्त्रिपरिषद् कार्यालयले गर्ने छ। 
यसैगरी मन्त्रालयले सहसचिवको समायोजनका पनि तयारी थालेको छ। सहसचिवको ज्येष्ठताका आधारमा समायोजन गर्न थालिएको उपसचिव निरौलाले जानकारी गराए। सरकारले कर्मचारी समायोजन अध्यादेश–२०७५ ल्याएर गत पुस ११ देखि माघ २ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि अनलाइन फाराम आवेदन माग गरेको थियो। ७७ हजार ३४ कर्मचारीले समायोजनका लागि आवेदन फाराम भरेका छन्। सङ्घमा ४६ हजार २६०, प्रदेशमा ५८ हजार ६२३ र  स्थानीय तहमा तीन लाख ५४ हजार २२५ जनाले समायोजनका लागि फाराम भरेका छन्। 
कर्मचारीले तीनै तह गरी ७६१ वटा तह समायोजनका लागि रोज्न पाउने अध्यादेशमा व्यवस्था रहेको छ। यसैगरी सङ्घ रोज्ने पहिलो प्राथमिकतामा ३५ हजार ३६८, प्रदेश तह १४ हजार २०९ र स्थानीय तह २७ हजार ४७१ जनाले पहिलो प्राथमिकता रोजेका छन्। यसैगरी मन्त्रालयले समायोजन रोज्ने कर्मचारीको १२ वटा समूह बनाउन थालेको छ। समायोजनमा पठाउनका लागि ज्येष्ठताका आधारमा समूह बनाउन थालिएको उपसचिव निरौलाले बताए। सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गदैछ। रासस
 

कमेन्ट लोड गर्नुस