सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीले 'टोटल स्टेसन' खरिद गर्दा अनियमितता, सूचना दिने कर्मचारीलाई हाकिमले हप्काए

२०७८ फाल्गुन १०, ०७:२७ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः धनगढी उपमहानगरपालिकाले जग्गा नापीका लागि २०७८ साउन १९ गते टोटल स्टेसन खरिदका लागि सूचना प्रकाशन गर्‍यो। दुई वटा उपकरण खरिदका लागि १९ लाख ४४ हजार १६५ रकमसहित प्रकाशन गरेको सूचनाअनुसार तीन कम्पनीको आवेदन परेको थियो।

डिजिटल प्रविधिमा आधारित टोटल स्टेसनका लागि काठमाडौँको विजी जनरल सप्लायर्ससँग उपकरण खरिद गर्न १९ लाख २२ हजार १३० रुपैयाँमामा सम्झौता गरिएको थियो। तर खरिद गरिएका दुबै उपकरण प्रयोगमा छैनन्। खरिद गरिएका ती उपकरण कहिले ५ नम्बर वडा त कहिले १३ नम्बर वडामा रहेको भन्दै उपमहानगरले देखाउन समेत मानेको छैन। 

उपमहानगरपालिकाले खरिद गरेका टोटल स्टेसन १३ नम्बरमा जग्गा नापजाँचका लागि लगिएको वडा नम्बर ५ का वडाअध्यक्ष हिरासिंह पातलीले बताए। ‘अहिले हाम्रो वडामा छैन, १३ नम्बर वडा पुगेको जानकारी पाएको छु,’ उनले भने।
उपमहानगरपालिकाले जग्गा नाप्न परीक्षणको रुपमा ती उपकरण प्रयोग भइरहेको दाबी गरेको छ। साथै खरिद गरिएका उपकरणको अहिलेसम्म कुनै भुक्तानी समेत नभएको बताउँदै आएको छ।

यो प्रविधिअनुसार जग्गा नाप गरेर प्रत्येक कित्ताको लम्बाइ, चौडाइ, क्षेत्रफल र चार किल्ला खुलेको नक्सा ‘ए फोर’ आकारको कागज जग्गाधनीलाई दिइन्छ। उपमहानगरपालिकाका एकजना कर्मचारीका अनुसार ६ महिनाअघि १९ लाख २२ हजार भन्दा बढीमा खरिद गरिएका २ टोटल स्टेसन प्रयोगमा छैनन्। परीक्षणपछि उपयुक्त नतिजा आएपछि मात्र भुक्तानी गरिने भनिएको छ। 

जग्गा नाप्न डिजिटल प्रविधिमा ‘टोटल स्टेसन’ नामक यन्त्रको प्रयोग गरिन्छ। यसमा हुने ‘लाइट रिफ्लेक्टर’ ले प्रकाश दिन्छ। कोण र दूरीका आधारमा समन्वय गरेर नक्सा निकालिने यी उपकरण खरिद गरेर पनि प्रयोगमा छैनन्। खरिद गरेको ६ महिनादेखि परीक्षणमै राख्नुले मिलेमतोको आंशकालाई झनै बढाइदिएको छ। साथै उपमहानगरपालिकाले टोटल स्टेसन खरिद प्रक्रिया र दुई पक्षबीच भएको सम्झौताका प्रतिलिपी दिन समेत आनाकानी गर्दै आएको छ। 

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भने यो विषयमा सूचना दिने आफ्नै कर्मचारीलाई हप्काएका छन्। उनले टोटल स्टेशनको सुचना किन दिनु भयो, बढी जान्ने भएर सूचना दिने काम नगर्नुस् भन्दै आक्रोस पोखेका हुन्। ‘कुनै पनि सम्झौताका प्रतिलिपी नदिनुस,’ प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले झर्किदै भने। 

जग्गा नापजाँचका लागि डिजिटल प्रविधिमा आधारित टोटल स्टेसन खरिदमा देखिएको अस्वभाविक मूल्य, खरिद भएको ६ महिनासम्म पनि प्रयोगमा नआउनु, खरिद प्रक्रियाको पूर्ण विवरणसहितको प्रतिलिपी दिन गरिएको आनाकानीले पनि आर्थिक अनियमितताको आंशकालाई बल पुर्याएको छ। टोटल स्टेसन बजार मूल्यभन्दा धेरै महँगोमा खरिद गरिएको छ।

कमेन्ट लोड गर्नुस