सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमसीसी भोलि संसदमा टेबल गर्न प्रचण्ड–माधव नेपाल सहमत

२०७८ फाल्गुन ७, ०५:३५ खबर संवाददाता

धनगढीः सत्ता गठबन्धनमा भएको लामो रस्साकस्सीपछि एमसीसी सम्झौता संसदमा टेबल गर्न दिन माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको निरन्तरको प्रयास र अमेरिकाको दबाबपछि अहिलेको गठबन्धन जसरी पनि जोगाउन आवश्यक रहेको भन्दै माओवादी का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एमसीसी सम्झौता संसदमा टेबल गर्न सहमत भएका हुन्।

सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका एक जना उच्च नेताले एमसीसी संसदमा टेबल गर्न प्रचण्ड र माधव नेपाल अन्ततः सहमत भएको बताए। ‘एमसीसी संसदमा टेबल गर्ने विषयमा २–३ दिनदेखि गठबन्धनमा चलिरहेको छलफल निष्कर्षमा पुगेको छ, भोली संसदमा टेबल हुन्छ’, कांग्रेसका ती नेताले भने।  

यो सहमति अनुसार भोली आइतबार अमेरिकाले अनुदान सहयोगस्वरुप दिएको ५० करोड डलरको एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधि सभामा प्रस्तुत गर्ने तयारी भएको छ। यसबारे अन्तिम निर्णय भोली संसद बैठकअघि बस्ने सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गर्ने जनाइएको छ। आज शनिबार बसेको एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले यही सहमति अनुसार एमसीसी संसदमा टेबल गर्नु पर्ने निष्कर्ष निकालेको छ। एमसीसीको विषयमा बारम्बार अडान फेर्दै आएका माओवादी र एकीकृत समाजवादीले भोली बिहानसम्म आफ्नो भनाइ फेरेनन् भने अब संसदमा एमसीसी सम्झौता टेबल हुनेछ।

कमेन्ट लोड गर्नुस