पत्रकार महासंघ डडेल्धुराले भन्यो– ‘भण्डारीमाथि आर्थिक अपचलन गरेकोबारे कारबाही गर्छौ’
डडेल्धुराः नेकपा एमाले डडेल्धुरा जिल्ला कमिटी सदस्य तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य नवराज भण्डारीले सार्वजनिक रूपमा जथाभावी अभिव्यक्त दिएको भन्दै नेपाल पत्रकार महासंघ डडेल्धुराले ध्यानाकर्षण भएको जनाएको छ। पत्रकार महासंघ माथि संस्थागत आँच आउने गरी भण्डारीले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिप्रति महासंघले निन्दा गरेको छ।
मंगलबार महासंघका सचिव पुष्कर भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भण्डारीले अभिव्यक्त गरेका लान्छाना र आरोपहरू पुष्टि गर्न चेतावनीसमेत दिइएको छ। ‘आमनागरिकलाई देशको जुनसुकै क्षेत्रमा गएर आफ्नो पेशा व्यवसाय गर्न पाउने संवैधानिक अधिकार रहेपनि निज भण्डारीले व्यक्तिगत इर्ष्र्या र कुण्ठा पोख्दै साम्प्रदायिक भावना भड्काउने र विखण्डनकारी भावना फैलाउने गरी अनर्गल रूपमा प्रयोग गरेका अभिव्यक्तिहरू सार्वजनिक रूपमा फिर्ता लिन आग्रह गर्दछौँ। साथै अभिव्यक्त गरिएका लान्छाना र आरोपहरू पुष्टि गर्न चेतावनीसमेत दिन चाहन्छौं’ विज्ञप्तिमा उल्लेख छ।
जिल्ला शाखाको भवन निर्माणको सन्दर्भ भण्डारीले स्वयंम् आव २०७६÷०७७ मा निर्माण समिति संयोजक रहेको बेला संवद्ध निकायबाट रकम भुक्तानी लिएको भएपनि व्यवसायी तथा सप्लायर्सहरूलाई हालसम्म पनि भुक्तानी नगरेको विज्ञप्तिमार्फत् महासंघले जनाएको छ। ती व्यवसायी तथा सप्लायर्सहरूलाई तिर्नुपर्ने रकम तत्काल भुक्तानी गरि पत्रकार महासंघ डडेल्धुरा शाखामा ७ दिनभित्र विवरण पेश गर्नसमेत आग्रह गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा आर्थिक अपचलन गरेको ठहर गरी महासंघले कारबाही प्रक्रिया अगाडि बढाउने समेत विज्ञप्तिमार्फत् जानकारी गराउँछौं’
यस्तै सम्पूर्ण सञ्चार माध्यमहरूलाई साप्रदायिकता भड्काउने विषयवस्तुको प्रकाशन तथा प्रशारणमा संयमता अपनाउन र पत्रकार आचारसंहिताको पूर्णपालना गर्नसमेत महासंघले आग्रह गरेको छ।