सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेटिङमा ठेक्का दिन लागेको भन्दै विरोध भएपछि अछामको मेल्लेख गाउँपालिकाले सर्त सच्यायो

२०७८ माघ २५, ११:१६ खबर संवाददाता

धनगढीः अछामको मेल्लेख गाउँपालिकाले अस्पताल भवन निर्माणका लागि राखेको सर्त सच्याएको छ। यसअगि मेल्लेख र रामारोशन गाउँपालिकाले १५/१५ शय्याका अस्पताल भवन निर्माणको ठेक्कामा अनावश्यक सर्त राखेको भन्दै निर्माण व्यवसायीले विरोध जनाएका थिए। आइतवार मात्रै ७ दिनको समय राख्दै अस्पताल भवनको ठेक्कामा राखिएका सर्त संशोधन गरिएको पत्र गाउँपालिकाले प्रमुख जिल्ला अधिकारीलाई पठाएको छ। माघ २३ गतेको प्रि–बिडिङ बैठकमा निर्माण व्यवसायीले अनावश्यक सर्त सच्याउन माग गरेकाले हटाइएको गाउँपालिकाले पत्रमा उल्लेख गरेको छ। 

विद्युतीय बोलपत्र सार्वजनिक गर्दा नै अनावश्यक सर्त राखिएको निर्माण व्यवसायीहरुको आरोप थियो। मेल्लेख गाउँपालिकाले विद्युतीय बोलपत्रमा पहाडी क्षेत्रमा १२ करोड ६५ लाख बढीका दुई अस्पताल निर्माण गरेको अनुभव निर्माण कम्पनीको हुनुपर्ने सर्त राखेको छ। उक्त सर्त कुनै एक निर्माण कम्पनीसँगको सेटिङमा राखिएको अन्य निर्माण कम्पनीहरुको आरोप थियो।  मेडिकल ग्याँससहितको अस्पतालको आरसीसी भवन निर्माण गरेको निर्माण कम्पनीले मात्र बोलपत्र पेश गर्नसक्ने सर्त मेल्लेख गाउँपालिकाको छ। गाउँपालिकाले एन्टी ब्याक्टेरियन पेन्ट लगायतको अनुभव भएका निर्माण कम्पनीले मात्र बोलपत्र पेश गर्नसक्ने अर्को सर्त समावेश गरेको छ। उक्त सर्तले धेरै निर्माण कम्पनी बोलपत्र पेश गर्नबाट वञ्चित गराइएको भन्दै निर्माण व्यसायीले आरोप लगाएपछि सच्याइएको हो। 

तर जिल्लाको रामारोशन गाउँपालिकाले भने विद्युतीय बोलपत्रमा राखिएका अनावश्यक सर्त सच्याएको छैन। गत पुस ३० गते १५ शय्याको अस्पताल भवन निर्माणका लागि विद्युतीय बोलपत्र सार्वजनिक गरेको गाउँपालिकाले ग्याँस पाइपलाइनसहितको अस्पताल भवन निर्माण गरेको निर्माण कम्पनी हुनुपर्ने सर्त मिलोमतोमा राखेको निर्माण व्यवसायीहरुको आरोप छ। उक्त गाउँपालिकाले १३ करोड ७५ लाख लागतका भवन निर्माण गरेको अनुभव भएका निर्माण कम्पनीले मात्र बोलपत्र पेश गर्न पाउने सर्त राखेको छ। तर गाउँपालिकाका निमित्त प्रमुख प्रसाशकिय अधिकृत रामबहादुर भण्डारीले सर्त संशोधनका लागि हालसम्म कुनै छलफलसमेत नभएको बताएका छन्। ठेक्का सम्झौताको समय अझै बाँकी उनले बताए। 

सम्बन्धित समाचार:
अछाममा ‘सेटिङ’मा ठेक्का पार्न अनावश्यक सर्त राखिएको भन्दै संसोधन गर्न माग
अस्पताल निर्माणको बोलपत्रमा रामारोशन र मेल्लेखको बदमासी, सेटिङमा ठेक्का पार्न अनावश्यक शर्त

कमेन्ट लोड गर्नुस