सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ‘सेटिङ’मा ठेक्का पार्न अनावश्यक सर्त राखिएको भन्दै संसोधन गर्न माग

२०७८ माघ २१, १२:३१ कमल सावद

धनगढीः अछामको मेल्लेख र रामारोशन गाउँपालिकाले अनावश्यक सर्त राख्दै अस्पताल भवनको बोलपत्र सार्वजनिक गरेको भन्दै सच्याउन माग गरिएको छ। १५ शय्याका अस्पताल भवन निर्माणका लागि ‘सेटिङ’मा विद्युतीय बोलपत्र आह्वान गरिएको भन्दै सच्याउन माग गरिएको हो। 

बोलपत्र खरिद गर्ने निर्माण व्यवसायी र बोलपत्रको सूचनामा चित्त नबुझेका निर्माण कम्पनीहरुको प्री–बिडिङ बैठक भएको छ। चित्त नबुझेका निर्माण कम्पनीहरुले अनावश्यक सर्तहरु संसोधन गर्न माग गरेका थिए। उनीहरुको माग सम्बोधनन भएको भन्दै सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघले संसोधन गर्न आग्रह गरेको हो। 

विद्युतीय बोलपत्र सार्वजनिक गर्दा नै अनावश्यक सर्त राखिएको महासंघको आरोप छ। सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघ र निर्माण व्यवसायी संघ अछामले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई लिखित पत्र पठाएका हुन्। दुबै गाउँपालिकाले सेटिङमा बोलपत्रको सूचना सार्वजनिक गरेकाले अनावश्यक सर्त हटाउन माग गरेका हुन्। 

मेल्लेख गाउँपालिकाले पहाडी क्षेत्रमा १२ करोड ६५ लाख बढीका दुई अस्पताल निर्माण गरेको अनुभव हुनुपर्ने सर्त राखेको छ। उक्त सर्त कुनै एक निर्माण कम्पनीसँगको मिलोमतोमा राखिएको अन्य निर्माण कम्पनीहरुको आरोप लगाउदै आएका छन्। सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघले पनि उक्त विषय निवेदनमा समावेश गरेको छ। 

मेडिकल ग्याँससहितको अस्पतालको आरसीसी भवन निर्माण गरेको निर्माण कम्पनीले मात्र बोलपत्र पेश गर्न सक्ने सर्त मेल्लेख गाउँपालिकाको छ। गाउँपालिकाले एन्टी व्यक्टरेरियन पेन्ट लगाएको निर्माण कम्पनीले मात्र बोलपत्र पेश गर्न सक्ने अर्को सर्त समावेश गरेको छ। उक्त सर्तले धेरै निर्माण कम्पनी बोलपत्र पेश गर्नबाट बञ्चित भएका निर्माण व्यसायी  संघहरुले आरोप लगाएका छन् 

जिल्लाको रामारोशन गाउँपालिकाले पनि पुस ३० गते १५ शय्याको अस्पताल भवन निर्माणका लागि विद्युतीय बोलपत्र सार्वजनिक गरेको थियो। रामारोशन गाउँपालिकाले बिहीबार प्रि–बिडिङको बैठक गरेको छ। रामारोशन गाउँपालिकाले ग्याँस पाइपलाइन सहितको अस्पताल भवन निर्माण गरेको हुनुपर्ने सर्त मिलोमतोमा राखेको दाबी गरिएको हो।

१३ करोड ७५ लाख लागतका भवन निर्माण गरेको अनुभव भएका निर्माण कम्पनीले मात्र बोलपत्र पेश गर्न पाउँने गाउँपालिकाले सर्त राखेको छ। अछामको रामारोशन र मेल्लेख गाउँपालिकाले अस्पताल भवन निर्माणमा अनावश्यक शर्त राखेको भन्दै संसोधनका लागि प्रमुख प्रशासकिय अधिकृतलाई लेखिएको पत्रमा, प्रमुख जिल्ला अधिकारी, अख्तियार महेन्द्रनगर र नेपाल निर्माण व्यवसायी महासंघलाई बोधार्थ दिइएको छ। जिल्लाका दुई गाउँपालिकाले १५÷१५ शय्याका अस्पताल भवन निर्माणका लागि बोलपत्र आह्वान गरेका हुन्।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस