खेतीयोग्य जमीनमा सिँचाइ अभाव
बैतडीमा पन्ध्र हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा नहुँदा यहाँका किसान समस्यामा परेका छन।
सिँचाइ सुविधा नभएका कारण यहाँका धेरैजसो किसान आकाशे पानीको भरमा वर्षा याममा मात्र खेती गर्ने गरेका छन। भिरालो जमीनमा ओसिलो पन नहुँदा लगाएको सबै अन्नबाली सुक्ने भन्दै हिउँदे याममा किसानका खेतबारी बाँझै रहने गरेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए। हिउँदको समयमा खडेरी पर्दा किसान जमीन बाँझै छोड्न बाध्य भएका हुन।
केहीले व्यक्तिगत रुपमा पाइप खरीद गरी सिँचाइ गरे पनि अधिकांश किसानका खेतबारी सिँचाइविहीन अवस्थामा रहने गरेका छन। आकाशे पानीको भरमा खेती गर्दा बीउ नै नउम्रिने र हिउँदे याममा जमीन खाली नै राख्ने गरेका छन। सिँचाइ सुविधा भएका ठाउँमा किसानले बर्खेबाली र हिउँदेबालीका साथै बेमौसमी तरकारीबालीसमेत लगाउने गरेका छन। आर्थिक आम्दानीको स्रोत बढ्ने भएकोले किसानहरु सिंचाई सुविधा भएका ठाउँमा बेमौसमी तरकारीखेतीतर्फ आकर्षित हुन थालेका हुन।
जमीन पर्याप्त भए पनि कतिपय ठाउँमा सिँचाइको अभावमा बाँझै राख्नुपर्ने बाध्यता छ। आकाशे पानीको भरमा लगाउँदा वर्षेनी बीउ नै नउठ्ने भएपछि हिउँदे याममा जमीन खाली राख्ने गरेका हुन।
जिल्लाका सिँचाइ नभएका ठाउँमा खडेरीले बढी प्रभाव पार्ने गरेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। जिल्लामा २५ हजार ५०० हेक्टर खेती योग्य जमीन भए पनि त्योमध्ये १० हजार हेक्टरमा मात्रै सिँचाइको सुविधा रहेको उनले बताए। खडेरीका कारण उत्पादनमा कमी आएपछि तराईबाट आयात हुने खाद्यान्नमा समेत वृद्धि भएको छ। रासस