सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपाश्यना (ध्यान केन्द्र) पुग्ने बाटोको निर्माण कार्य रोकियो

२०७८ माघ १९, ०७:१२ रासस

कञ्चनपुर: भीमदत्त नगरपालिका–९ को चुरे क्षेत्र ताराकोटमा विपश्यना ध्यान केन्द्रका लागि सुरु गर्न लागिएको बाटो निर्माण रोकिएको छ। जिल्ला वन डिभिजन कार्यालय कञ्चनपुरले स्थानीयवासीको दबाबपछि बाटो निर्माण रोकेको हो। ध्यान केन्द्र बनाउनका लागि ताराकोटमा जेसिभी लगाएर बाटो निर्माण सुरु गरिएको थियो।

स्थानीयवासीका अनुसार ताराकोटसम्म ४०० मिटर बाटो निर्माण गरिएको छ। जिल्ला वन डिभिजन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले जेसिभी लगाएर बाटो निर्माण गरिएको जानकारी आएपछि रोकिएको बताए। “कार्य योजनाविपरीत कार्य गरिएको पायौँ”, उनले भने, “अवैधरूपमा वन क्षेत्रमा गतिविधि गर्न नपाइने भएकाले बाटो निर्माणको कार्य रोकिएको छ।” पन्ध्र हेक्टरको वन दर्ता गरिएपछि अहिले त्यस क्षेत्रमा ध्यान केन्द्र बनाउन थालिएको छ।

स्थानीयवासीहरूले ध्यान केन्द्रका नाममा ताराकोटमा होटल रेस्टुराँ बनाउने नियत राखेर काम अघि बढाएको आशङ्का गरेका छन्। झिलमिला ताल नजिकको ताराकोट क्षेत्रबाट केही वर्षअघि मात्रै गोठ हटाइएका थिए। त्यसपछि त्यस क्षेत्रमा चुरे संरक्षण सञ्जाल र वन कार्यालयले वृक्षरोपण गरेका थिए।

ताराकोटमा ध्यान केन्द्र बनाउन थालिएपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेलगायतले वन कर्मचारीसहित ताराकोट क्षेत्र निरीक्षणसमेत गर्नुभएको छ। वन कार्यालयले बाटो निर्माण बन्द गरेकाले तत्काल प्रशासनले केही गर्न नसक्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए। “वनले केही गर्ला, नगरे हामी गरौँला। उता प्रक्रिया चलेका बेला केही गर्नुपर्ने भएन”, उनले भने। 

ब्रह्मदेव सबडिभिजन कार्यालयका प्रमुख प्रकाश जोशीले वन कार्यालयको अनुमतिविना बाटो खनिएको बताए। सबडिभिजन कार्यालयले प्रतिवेदन तयार गरी वन कार्यालयमा पेश गरी कारवाही प्रक्रिया अघि बढाएको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस