राप्रपा कञ्चनपुरका सचिव लेखकले किन छोडे पार्टी ?
धनगढीः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता हेमबाबु लेखकले पार्टी परित्याग गरेका छन्। बुधबार सामाजिक सञ्जालमा उनले राप्रपाको साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट अलग्गिने घोषणा गरेका हुन्।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीमा केन्द्रीय सदस्य, विभागीय जिम्मेवारी, प्रदेश प्रवक्ता हुदै कञ्चनपुर जिल्ला सचिवको जिम्मेवारीमा क्रियाशील रहँदारहँदै अत्यन्तै गहिरो विमर्श पश्चात् तत्कालीन रुपमा सक्रिय राजनीतिक सांगठनिक जिम्मेवारीबाट राप्रपाको साधारण सदस्य समेत नरहने गरी बिदा लिनुपर्ने निष्कर्षमा पुगेको छु।’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन, ‘केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, निवर्तमान अध्यक्ष कमल थापा, पूर्वमहामन्त्री जयन्त चन्द, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्ष लगायतका नेतृत्वसँग प्रत्यक्ष कुराकानी गरेर अत्यन्तै हार्दिकतापूर्वक राप्रपाको सक्रिय एवं सांगठनिक राजनीतिबाट अलग्गिने जानकारी गराएको छु।’ उनले अबदेखि समाज र साहित्यमा सक्रियता बढाउने बताएका छन।