गोदावरी धाममा २ लाख बढीले स्नान गरेको दाबी
कैलालीको गोदावरी धाममा आज झण्डै दुईलाख भन्दा बढी भक्तजनहरुले स्नान गरेको दाबी गरिएको छ। बाहराशि दर्शन मकर मेला लागेको धाम क्षेत्रमा आज २ लाख भन्दा बढि भक्तजनहरुले स्नान गरेको आयोजकले दावी गरेको हो। आयोजक गोदावरी धामका अध्यक्ष पदमराज जोशीले आज दिनरभरी नै भक्तजनहरुको धाममा घुईचो रहेको बताए। गोदावरीमा स्नानका लागि सुदूरपश्चिमका ९ वटै जिल्लाका वासिन्दाहरु पुगेको उनले बताए। स्नानका लागि गोदावरी धाम समितिले स्नान कुण्डहरुको समेत व्यवस्थापन गरेको थियो।
हरेक १२ बर्षमा कुम्भ मेला, ६ बर्षमा अर्ध कुम्भ र हरेक बर्ष मकर मेला लगाउने परिपाटी अनुसार यसबर्ष पनि गोदावरी धाम क्षेत्रमा मकर मेला लागेको छ। १२ गते सम्म चल्ने मेला अवधिभर नव ग्रह शान्ति महा अनुष्ठान, विषेश पुजा तथा पाठ, लक्ष्य हवन, पितृकर्म लगायत आरती तथा भजन कृतन हुने छन्। मेला अवधिभर सुदूरपश्चिम लगायत सिमावर्ती भारतका विभिन्न ठाउँहरुबाट लाखौ भक्तजनले दर्शन गर्ने अपेक्षा गरिएको छ।