सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा ४ बुँदे आदेश जारी, के गर्न पाइन्छ, के पाइँदैन ? (आदेशसहित)

२०७८ माघ १७, ०५:०४ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा सोमबार राति १२ बजेदेखि लागु हुनेगरी ४ बुँदे आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि ४ बुँदे आदेश जारी गरेको हो। 

कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस एवम् गृह मन्त्रालयको निर्णय र संक्रामक रोग ऐन २०२० को दफा–२ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा– ६ को उपदफा–३ ले दिएको अधिकार बमोजिम उक्त आदेश जारी गरिएको प्रशासनले जनाएको छ। 

प्रशासनको आदेशअनुसार जिल्लामा संचालनमा रहेका नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, पटके हाट बजार र मानिसहरूको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रमहरू माघ मसान्तसम्म संचालन गर्न पाइने छैन। यस्तै विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप संचालन गर्दा माघ मसान्तसम्म भौतिकरूपमा उपस्थितिमा संचालन नगर्ने र त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाइ संचालन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।

विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षालगायतका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी संचालन गर्ने नेपाल सकारकारको पुस ३० गतेको आदेश बमोजिम गर्न प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ। अन्य गतिविधिहरूका सम्बन्धमा पुस २८ गतेको आदेश बमोजिम नै हुने जनाइएको छ। डडेल्धुरामा सोमबार मात्रै थप ३२ जनामा कोरोनाको संक्रमण देखिएको छ। 

कमेन्ट लोड गर्नुस