बैतडीमा फेला परेको शवको पहिचान खुल्यो
धनगढी : बैतडीमा फेला परेको शवको पहिचान खुलेको छ। बिहीबार साँझ जिल्लाको पाटन नगरपालिका-६ हिरापुर नजिक सडकभन्दा करीब ५० मिटर तल शव फेला परेको थियो।
उक्त शव दशरथचन्द नगरपालिका-४ का २६ बर्षीय सुरत भुलको रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए। प्रहरीका अनुसार रोजगारीका लागि भारत गएका उनको घर फर्किँदै गर्दा बाटोमै मृत्यु भएको हो।
उनी जण्डिसको बिरामी रहेको बुझिएको छ भने उनको मृत्यबारे केही खुल्न नसकेको र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको बताइएको छ।